काठमाण्डौ – एभरेस्ट प्रिमियर लिग ९ईपीएल० क्रिकेटमा पोखरा राइनोजले ललितपुर प्याट्रियट्सलाई हराएको छ । त्रिवि क्रिकेट मैदानमा आज बुधवारको पहिलो खेलमा ललितपुरले दिएको ५२ रनको लक्ष्य पोखराले ६ ओभर ३ बलमा मात्र एक विकेट गुमाएर लक्ष्य भेटाएको हो ।
मैदान ओसिलो भएका कारण यो खेल सात ओभरमा झारिएको थियो । पोखराको जितमा रिचार्ड लेभीले २२ बलमा अविजित ३८ रन बनाए । बलिङतर्फ ललितपुरका अजमतुल्लाह ओमरजाईले एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित ओभरमा ६ विकेट गुमाएर ५१ रन बनायो । ललितपुरका लागि सान्दुन विराक्कोदीले १९ रन बनाए । बलिङतर्फ पोखराका नन्दन यादवले तीन, विक्रम सोबले दुई र केसरिक विलियम्सले एक विकेट लिए ।
प्रतियोगिता अन्तर्गत आजैको अर्को खेलमा भैरहवा ग्लाडियटर्स र विराटनगर वारियर्स खेल्दैछन् ।