काठमाडौँ । नेपाली काँग्रेसको कार्यवाहक सभापति बिमलेन्द्र निधि भएका छन्।
प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा सात दिने बेलायत भ्रमणमा निस्किएपछि निधि कार्यवाहक सभापति बनेका हुन् ।
राष्ट्रसङ्घ आबद्ध देशका नेताहरुको सम्मेलन ‘वर्ल्ड लिडर समिट’मा भाग लिन प्रधानमन्त्री २० सदस्यीय टोलीको नेतृत्व गर्दै बेलायत प्रस्थान गरेका हुन् ।
नोभेम्बर १ र २ मा बेलायतको ग्लास्गोमा हुने संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धी (कोप–२६)को २६ औँ विश्व नेताहरुको सम्मेलन ‘लिडर समिट’मा भाग लिएर प्रधानमन्त्रीसमेत रहेका काँग्रेस सभापति देउवा त्यसतर्फ प्रस्थान गरेका हुन् ।
उनको भ्रमण एक साता लामो हुने छ । त्यतिन्जेलसम्म निधि नेपाली काँग्रेसको कार्यवाहक सभापति रहने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । त्यस वेलासम्म काँग्रेसले कुनै महत्त्वपूर्ण निर्णय गर्नुपरेमा निधिले नै त्यसको नेतृत्व लिनेछन् ।