लुम्बिनी- राष्ट्रपति विद्यादेवी भण्डारीले गौतम बुद्धको जन्मथलो लुम्बिनीमा नेपाली मौलिकता झल्किने बज्रयान विहारको उद्घाटन गरेकी छन् । विहारको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले गौतम बुद्ध नेपालमै जन्मिएको भन्दै नेपाल र नेपालीको गौरव भएको बताइन् । ‘म एउटै कुरा भन्छु, गौतम बुद्दको जन्म नेपालमै भएको हो,’ उनले भनिन्, ‘गौतम बुद्धले आफ्नो लामो तपस्याबाट ज्ञान आर्जन गर्नुभयो र विश्व समुदायका लागि अमूल्य विचार दिनुभयो ।
बुद्ध दर्शनको मर्म र भावनाअनुसार हामी चल्न सक्नुपर्छ । त्यो मर्म र भावनाअनुसार चल्न सक्यौँ भने निश्चय पनि देशको विकास हुन्छ ।’ उनले विश्वमा कुनै पनि देशले कुनै न कुनै रुपमा बुद्धको सोँच र दर्शनलाई अपनाएको उल्लेख गरिन् । ‘नेपालमा विकास गर्न पैसाको कमी होइन,’ उनले भनिन्, ‘लुम्बिनीको विकास गर्न गुरुयोजना बनेर पनि किन रोकिएको छ ? आन्तरिक कारण के–हो ? यो विषयमा पनि सबैले गम्भीर भएर सोच्नुपर्ने हुन्छ ।
’उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले महानगरको आर्थिक सहयोगमा विहार बन्दा खुसी लागेको बताए । ‘काठमाडौँ महानगरपालिकाका जनप्रतिनिधि लुम्बिनी भ्रमणका सिलसिलामा आउँदा मौलिकरुपमा बनिरहेको तर अपूरो विहार देखेपछि काठमाडौँ महानगले केही सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो, ‘उनले भने, ‘त्यहीँअनुसार सहयोग गरेका हौँ ।
’ शाक्यले काठमाडौं महानगरजस्तै संघीय र प्रदेश सरकारले पनि नेपालका मौलिकता झल्किने कार्यमा सबैको सहयोग होस भन्ने अपेक्षा रहेको बताए । परम्परागत नेपाली बज्रयान महाविहार समितिका अध्यक्ष डाक्टर नरेशमान बज्राचार्य नेपालमा विहार बनाउने कुरा हरेक नेपालीको कर्तव्य रहेको स्मरण गराए । उनकाअनुसार महानगरपालिकाको चार करोड २९ लाख १८ हजार सहयोगमा विहारका कलात्मक झ्याल, ढोका, टुँडाल र परम्परागत नेपाल मण्डलद्वार निर्माण भएको छ । उनले नेपाली बौद्धकला, बास्तुकलालाई निरन्तरता दिने अर्को उदेश्य रहेको पनि बताए ।
‘नेपालमा यस्तो कलाकृतिको विहार बन्न छाडेको ३७२ वर्ष भयो,’ उनले भने, ‘३७२ वर्षपछि अहिले यो विहार बनिरहेको छ । हामीले वास्तुकलालाई पनि ध्यान दिएका छौं ।’ नेपाल परम्परागत बौद्धधर्म संघका उपाध्यक्ष मानिकरत्न शाक्यले अहिलेसम्म करिब १६ करोड खर्च भएको भन्दै २० करोडको लगानीमा सम्पन्न हुने अपेक्षा लिएको बताए । कार्यक्रममा पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठ, वागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ, वागमती प्रदेशका पूर्वमन्त्री डाक्टर अजयक्रान्ति शाक्य, काठमाडौँ महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठलगायतको उपस्थिति थियो ।
















































