काठमाडौं । भरतपुर महानरगपालिकाका प्रमुख रेनु दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई माओवादीकै सहयोगमा दुई पटक प्रधानमन्त्री भएकोले ठुला कुरा नगर्न चेतावनी दिएकी छन् । नेकपा (मााओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपुत्री समेत रहेकी दाहालले ओलीप्रति कटाक्ष गर्दै सामाजिक सञ्जालमा भनेकी छन्, ‘इतिहासमा दुई पटक प्रधानमन्त्री माओवादी कै सहयोगमा भएकाले ठुला कुरा नगरेकै बेस होला ।
’ विगतमा ओलीको लागि भोट माग्दै प्रचण्ड झापासम्म पुगेको स्मरण गर्दै दाहालले सोही बेला आफ्नो भाइ गुमाउनु परेको समेत उल्लेख गरेकी छन् । ‘ओलीलाई भोट माग्न ओलीको क्षेत्रमा ओलीसहित अध्यक्ष प्रचण्ड झापा जाँदा घरमा आमा मात्र, त्यहीपनि पार्किन्सनको बिरामी’, दाहालले फेसबुकमा भनेकी छन् ।
‘भाइको मध्यरातमा अचानक स्वास्थ्यमा समस्या आई दुःखद घटना घट्यो । घरमा परिवारका सदस्य कोही पनि नभएको बेला र सबै आ–आफ्नो चुनावी मैदानमा ।’ माओवादीसँगको सहकार्यले मात्र ओली प्रधानमन्त्री बनेको दाहालले जिकिर गरेकी छन् । ‘झन्डै दुई तिहाईको सरकार के ओली एक्लैले ल्याएको हो ? हो भने हामीले साथ छोडिदिँदा त सबै गर्ल्यामगुर्लुम ढल्यो त । धेरै नै फुर्ती लाउनेले अब बनाएर देखाए भो त।’