-आरपी उपाध्याय, नवलपरासी
नेपाली काङ्ग्रेसको चौधौँ महाधिवेशनका लागि पश्चिमनवलपरासीमा अन्य जिल्लाहरु जस्तै उम्मेदवार घोषणा हुने क्रम जारी छ । काङ्ग्रेस केन्द्रिय सदस्य देवेन्द्रराज कँडेल समूहले शनिबार क्षेत्र न. १ तर्फका उम्मेदवार घोषणा गरेको हो । प्रतापपुर गाउँपालिकाको गोपिगन्जमा एक कार्यक्रम गरि उम्मेदवारहरु घोषणा गरिएको थियो ।
कँडेल समूहले घोषणा गरेको उम्मेदवारहरुमा नेपाली काङ्ग्रेस क्षेत्र नं. १ क्षेत्रीय कार्यसमितिको सभापति पदमा अशोकजङ्ग राणालाई उम्मेदवार बनाउने घोषणा गरेको छ । त्यसैगरी संघीय क्षेत्रको सचिव पदका लागि कमल पराजुली, वृजराज कुशवहा, सहसचिवमा सुरेश गुप्ता र प्रकाश अधिकारीलाई उम्मेदवार बनाइएको छ भने प्रदेश निर्वाचन क्षेत्र १ (क) को क्षेत्रीय कार्यसमितिको सभापतिमा सुरज केसी, उपसभापतिमा दशरथ कुशवहा, देवबहादुर राना, सचिवमा कमल कोइराला, देवेन्द्र घिमिरे, सहसचिवमा रियाज अलि अन्सारी, गङ्गा ज्ञवालीलाई उम्मेदवार बनाइएको छ।
प्रदेश सभा १ (ख)तर्फको क्षेत्रीय सभापतिमा अन्जु चौधरी, उपसभापतिमा किशोर गौतम,हिरालाल चौधरी, सचिवमा विरेन्द्र कुमार कानु, प्रकाश पण्डित,सहसचिवमा विजय चौधरी र अनोज कुमार यादवलाई उम्मेदवार बनाइएको छ । क्षेत्र नं. १ मा बर्दघाट नगरपालिका, प्रतापपुर र सुस्ता गाउँपालिका र सरावल गाउँपालिकाको वडा नं. ४, ५, ६ र ७ वडा पर्दछ ।
पश्चिम नवलपरासीको क्षेत्र नं. २ को उम्मेदवारको घोषणा कँडेल समूहले यसपूर्व नै गरिसकेको छ । नेपाली काङ्ग्रेसको प्रदेश निर्वाचन क्षेत्रीय समितिको यही मङ्सिर ३ गते र प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय समितिको आउदो मङ्सिर ६ गते अधिवेशन हुँदै छ । जिल्लामा कँडेल गुट र संविधानसभा सदस्य विक्रम खनाल र देवकरण कलवार गुटबीच कडा प्रतिस्पर्धा भइहेको बुझिएको छ ।