साझा न्यूज । कपिलवस्तु
नेपाली कांग्रेसको केन्द्रिय महाअधिवेशन प्रतिनिधी पदका कपिलवस्तु संसदीय निर्वाचन क्षेत्र नं. २ बाट शहिद पुत्र अनिल घिमिरेले उम्मेदवारी दिएका छन् । युवा नेता घिमिरे बुद्धभूमि नगरपालिका वडा नं. १ महेन्द्रकोटका शहिद स्वर्गीय बालकृष्ण घिमिरेका छोरा हुन् । लोकतान्त्रिक बहुदलीय शासन व्यवस्थाको रक्षा र नेपाली कांग्रेसको संगठन विस्तारमा क्रियाशील रहेका घिमिरेलाई तत्कालीन विद्रोही नेकपा माओवादीका कार्यकर्ताहरुले गाउंमै हत्या गरेका थिए ।
आफ्ना पिताले नेपाली कांग्रेसको संगठन गर्दा गर्दै विद्रोही माओवादीबाट मारिएको दुखद घटनालाई स्मरण गर्दै बुवाको सपनालाई साकार पार्न आफु नेपाली कांग्रेसको राजनितिमा सक्रिय भई अघि बढेको युवा नेता घिमिरेले बताए । पार्टी संगठन विस्तारका काममा बुवालाई धेरै ठुलो रुचि थियो, युवा नेता घिमिरेले भने,“ बुवाको पद चापलाई पछ्याउंदै अघि बढेको छु, सवै क्षेत्रीय प्रतिनिधीहरुको सहयोगबाट महाअधिवेशन प्रतिनिधी पदमा म विजयी हुन्छु ।” क्षेत्र नं. २ को दक्षिणी क्षेत्र देखि बुद्धभूमि नगरपालिकाको उत्तरी क्षेत्र सम्म युवा नेता घिमिरे लोकप्रिय युवा नेताका रुपमा परिचित छन् ।
नेपाली कांग्रेसका जिल्ला नेताहरुबाट भने आफुलाई खासै संरक्षण नदिएको उनको गुनासो छ । आसन्न महाधिवेशन प्रतिनिधीको निर्वाचनमा क्षेत्र नं. १ की शहिद पत्नी गुण लक्ष्मी ज्ञवालीलाई नेताहरुले निर्विरोध सर्वसम्मत गराए पनि आफ्नो हकमा भने सर्वसम्मत चयनका लागि खासै चासो दिएनन्, शहिद पुत्र घिमिरेले भने, “अब म आम मतदाता क्षेत्रीय प्रतिनिधीहरु माथि ठुलो आशा र भरोसा लिएर निर्वाचनमा होमिएको छु । मेरो भाग्य विधाता भनेकै क्षेत्र नं. २ का सवै क्षेत्रीय प्रतिनिधीहरु नै हुन् ।”
शहिद पुत्र घिमिरेलाई महाअधिवेशन प्रतिनिधीमा निर्वाचित गराउन नेपाली कांग्रेसका अधिकांश अग्रज नेताहरु समेत सकारात्मक देखिएका छन् । सवैको सहयोगमा यस पाली आफुले निर्वाचन जित्ने नेता घिमिरेले बताए । युवा नेता घिमिरे क्षेत्रीय सभापति पदका उम्मेदवार विरेन्द्र मिश्राको समूहबाट महाअधिवेशन प्रतिनिधी लड्दै छन् ।
क्षेत्रीय अधिवेशन अन्र्तगत मतदान प्रक्रिया तौलिहवा स्थित बुद्धपद्म मा.वि.को खेल मैदानमा ८ गते बुधवार विहान ९ बजे देखि शुरु हुने बताईएको छ ।