काठमाडौँ । नेपाली काँग्रेसको काभ्रे जिल्ला सभापतिमा तीर्थ लामा विजयी भएका छन् । उनी संस्थापन समूहका हुन् । दोस्रो संविधान सभा सदस्य रहेका लामाले सभापतिमा संस्थापनइतर समूहका उम्मेदवार अच्यूत पौडेललाई पराजित गरेका हुन् ।
निर्वाचनमा दुई हजार ४६८ मत खसेकोमा लामाले एक हजार ६४६ मत पाए भने पौडेलले ७७० मत पाएको निर्वाचन समितिले जनाएको छ । काभ्रेमा संस्थापन समूह र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहबीच गठबन्धन बनेको थियो ।
काभ्रेका पूर्वजिल्ला सभापति एवं केन्द्रीय सदस्य शिव हुमागाईले लामालाई सभापतिमा समर्थन गरेका थिए । हुमागाईं काभ्रे कांग्रेसमा प्रभावशाली नेता मानिन्छन् । उनी सिटौला समूहका नेता हुन् ।
















































