काठमाडौँ – कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज बस्ने प्रदेश सभाको बैठकबाट विश्वासको मत लिने तयारी गर्नुभएको छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।
मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र संसद्बाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री शाहीले नियुक्त भएको २८औं दिनमा विश्वासको मत लिन लाग्नुभएको हो ।पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सत्ताको नेतृत्व हस्तान्तरण गरेपछि कांग्रेस संसदीय दलका नेता शाही कात्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।
बैठकमा मुख्यमन्त्रीले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफलपछि आजै मत विभाजन गर्ने कार्यसूची रहेको छ । सत्तारुढ गठबन्धन नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)ले मुख्यमन्त्रीलाई विश्वासको मत दिने छन् । प्रदेशसभामा कायम रहेका ३५ सदस्यमध्ये मुख्यमन्त्रीलाई १८ जनाको विश्वासको मत आवश्यक पर्छ । सत्तारुढ गठबन्धनसँग २३ मत रहेका छ ।
















































