अमृतलाई दरबारका धेरै कुरा थाहा छ भनेर भेषनारायणले अमृतलाई नजिक राखेर काम गर्ने गर्थे । मुमा बडामहारानीसँग भएका पुराना सामानहरूका बारेमा भेषबहादुरले राखेको रुचिमा पनि अमृतको सल्लाह-सुझाव थियो कि भनेर अहिले जानकारहरु चर्चा गर्ने गर्छन् ।
नारायणहिटी राजदरबारको जमिन भाडामा दिने क्रममा राजदरबारका तात्कालिन प्रमुख मुख्यसचिव पशुपतिभक्त महर्जनका आफ्नै भान्जाले पनि सहयोग पुऱ्याएको जानकारी प्राप्त भएको छ । नारायणहिटी दरबार सङ्ग्रहालयमा उपसचिवका रूपमा कार्यरत अमृत महर्जन सङ्ग्रहालयका तात्कालिन कार्यकारी निर्देशक भेषनारायण दाहालले तयार गरेको सम्झौताको साक्षी बसेका थिए । अमृत महर्जनलाई तात्कालिन श्री ५ महाराजाधिराज ज्ञानेन्द्रको पालामा दरबारका कर्मचारीका रुपमा नियुक्त गरिएको थियो । दरबारका तात्कालिन प्रमुख मुख्यसचिव पशुपतिभक्त महर्जनले आफ्नै दिदीका छोरा (भान्जा) अमृत महर्जनसहित अन्य दुई जनालाई एकै पटक नियुक्ति दिलाएका थिए । अहिले राजतन्त्र गएपछि नारायणहिटी दरबार सङ्ग्रहालयमा उपसचिवका रूपमा कार्यरत तिनै अमृत महर्जन दरबारमा बारसहितको रेष्टुरेन्ट बनाउने सम्झौताको साक्षी बस्दा जानकारहरू आश्चर्यचकित बनेका छन् । यसबाट दरबारले विगतमा कस्ता कर्मचारीहरू नियुक्त गरेको रहेछ भन्ने स्पष्ट भएको छ ।
तात्कालिन संस्कृति, पर्यटन तथा उड्ययनमन्त्री योगेश भट्टराईको पालामा राजदरबारमा बारसहितको रेष्टुरेन्ट सञ्चालनका लागि बतास समूहलाई दिने निर्णय भएपछि नारायणहिटी दरबार सङ्ग्रहालयका तात्कालिन कार्यकारी निर्देशक भेषनारायण दाहालले सम्झौता बनाएका थिए । भेषनारायणलाई मन्त्री योगेशले नै त्यहाँ नियुक्त गरेका थिए । उक्त सम्झौताअनुसार नारायणहिटीमा संरचना निर्माण हुँदै गर्दा संस्कृति, पर्यटन तथा उड्ययनमन्त्री प्रेम आलेले संरचना भत्काउन लगाएका थिए । नारायणहिटीमा भएका संरचना निर्माण, वर्षौंअघि लगाइएका रुख काट्नेलगायतका कुरालाई लिएर नरमाइलो लागे पनि अमृत महर्जन साक्षी बसेको कुरामा भने शाही परिवारले चित्त दुखाएको बुझिएको छ । नारायणहिटी दरबारभित्र धमाधम रुख काट्न थालेपछि त्यहाँ बस्दै आएका बकुल्लाहरू निर्मल निवास पुगेका थिए । निर्मल निवासमा अहिले भएका बकुल्लाको बथान नारायणहिटीबाट गएको हो । बथानै बकुल्ला उडेर त्यसरी निर्मल निवास पुग्नुलाई आश्चर्यको घटनाका रूपमा लिइएको थियो ।
प्राप्त जानकारीअनुसार, मन्त्री प्रेम आलेले कार्वाही गर्छु भनेपछि राजीनामा दिएर बसेका तत्कालिन कार्यकारी निर्देशक भेषनारायण दाहाल बेला-बेलामा मुमा बडामहारानी रत्नसामु गएर पुराना सामानहरू केही छन् कि ? भनी सोध्ने गर्थे । महेन्द्र सरकारसँग विदेश जाँदा ल्याएका सामानहरू छन् भने हामीलाई दिनु न हामी यहाँ राख्छौँ, पर्यटकहरू आउँदा स्लाइडहरू देखाउछौँ भन्ने गर्थे । तर मुमा बडामहारानीले आफ्ना पुराना कुनै पनि सामान उनलाई दिन रुचि देखाउनुभएन । अमृतलाई दरबारका धेरै कुरा थाहा छ भनेर भेषनारायणले अमृतलाई नजिक राखेर काम गर्ने गर्थे । मुमा बडामहारानीसँग भएका पुराना सामानहरूका बारेमा भेषबहादुरले राखेको रुचिमा पनि अमृतको सल्लाह-सुझाव थियो कि भनेर अहिले जानकारहरु चर्चा गर्ने गर्छन् ।
भेषनारायणसँगकै मिलेमतोमा मन्त्रालयले स्वीकृति दिएको जग्गाभन्दा बढीमा जग्गामा बतास समूहले संरचना निर्माण गरिरहेको थियो । मन्त्री योगेशले नियुक्त गरेको निर्देशक भएका कारण योगेश भट्टराई भने यी सबै कुरासँग अनभिज्ञ थिएनन् । मन्त्री, सचिव र कार्यकारी निर्देशकको मिलेमतोमा राजदरबारको जग्गामा रेष्टुरेन्ट र बारका लागि संरचना निर्माण गर्ने स्वीकृति दिइएको थियो ।

प्राप्त जानकारीअनुसार, चारैतिरबाट ओहोरदोहोर गर्न मिल्ने दरबारभित्र रहेको बंकरमा समेत संरचना निर्माण गरिँदै थियो । उक्त बङ्कर श्री ३ वीर शम्शेरले निर्माण गरेका हुन् । श्री ३ वीर शम्शेरको जग्गा राजा महेन्द्रले किनेपछि उक्त बङ्करसहितको दरबार परिसर बढेको थियो । श्री ५ महेन्द्रले उक्त बङ्करलाई जस्ताको तस्तै राख्नुभयो । पछि वीरेन्द्रका पालामा सैनिकहरूले प्रयोग गर्दै आएका थिए । श्री ३ बीर शम्सेरले निर्माण गरेका कारण उक्त बङ्कर आफैमा ऐतिहासिक थियो । राजदरबारलाई क्षतविक्षत गरी पैसा कमाउने मन्त्री, सचिव, कार्यकारी निर्देशकलाई हेर्दा नेपालका राजनीतिकर्मी र कर्मचारीहरू आफ्नो हितका लागि जेसुकै गर्न पनि तयार रहेको पुष्टि भएको छ ।
दरबारमा निर्मित संरचना र उक्त संरचना भत्काउने कार्यलाई लिएर सार्वजनिक रूपमा यति ठुलो चर्चा परिचर्चा पाए पनि नारायणहिटीकै महेन्द्र मन्जिलमा रहनुभएकी मुमा बडामहारानी रत्न भने यी सबै कुराबाट अनभिज्ञ रहेको बुझिएको छ । आफ्नो बासस्थानअगाडि ठुलो पर्खाल लगाइएका कारणले पनि उहाँले ती सब कुदृष्य देख्नु परेन । पछि चर्चामा आएपछि भने उहाँका कर्मचारीहरूले जानकारी गराए । यो विषयमा कुरा सुनाउँदा उहाँ मौन रहनुभएको थाहा भएको छ । ९४ वर्षीया मुमा बडामहारानी रत्नको स्मरण शक्तिमा अलिकति पनि कमी आएको छैन । कान भने उहाँ कम सुन्नुहुन्छ । सरकारले उहाँलाई सुरक्षा, खानेपानी, ड्राइभरलगायतका कुनै पनि सुविधा दिएको छैन । केपी ओली सरकार हटेपछि गृहमन्त्रालयका प्रवक्ता समेत रहेका सहसचिव फणिन्द्रमणि पोख्रेल मुमा बडामहारानी रत्नको अवस्था बुझ्न गएका थिए । उनले त्याहाँ निजी सुरक्षाकर्मीका रूपमा रहेका अवकाशप्राप्त लप्टनसँग सुरक्षाको के ब्यवस्था छ ? तपाइहरूले तलब कसरी लिनुहुन्छ ? ड्राइभर छ कि छैन ? कति जना कर्मचारी छन् ? लगायतका कुरा सोधे पनि अहिलेसम्म सरकारले त्यस्तो कुनै ब्यवस्था भने गरेको छैन । यो समाचार आजको घटना र विचार साप्ताहिकमा प्रकाशित छ।