काठमाडौं । नेपालले मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा १-० गोलले जित दर्ता गरेको छ । दशरथ रंगशालामा जारी खेलको ११औं खेलमा सुजल श्रेष्ठले गरेको गोल नै जितका लागि निर्णायक बन्यो । सुजलले खेलको ११औं मिनेटमा गोल गरेका हुन् ।
खेलबाट राष्ट्रिय टिममा डेब्यु गरेका नविन गुरुङको कर्नर प्रहार मरिससका खेलाडीले पन्च गरे पनि नेपालका आशिष लामाले प्रहार गरेका बलमा पुजन उपरकोटीले ब्याक फ्लिक गर्दै मिलाएको बलमा सुजलले गोल गर्न सफल भए ।

नेपालका दिनेश राजवंशीले लिन्सले ब्रेसलाई फाउल गरेपछि मोरिससले पेनाल्टी पाएको थियो । १३औं मिनेटमा मोरिससका कप्तान एन्डी सोफीको पेनाल्टी प्रहार नेपालका कप्तान किरण चेम्जोङले गोल गर्नबाट रोक्न सफल भएका हुन् ।
पहिलो हाफमा नेपालले एक गोलको अग्रता लिएको खेलको दोस्रो हाफ भने तनावपूर्ण रहेको थियो । दोस्रो हाफमा नेपालका एक र मरिससका दुई खेलाडीले रातो कार्ड पाएका थिए ।
खेलको ७१औं मिनेटमा नेपालका पुजन उपरकोटी र मरिससका एड्रिएन बोटलर तथा ८०औं मिनेटमा मरिससका एमानुएल फलचन्दले पनि रातो कार्ड पाएका थिए । दोस्रो हाफमा दुवै टिमले गोल गर्न नसक्दा नेपालले १—० ले जित्न सफल भएको हो ।