आज सोनाम ल्होसार । यो पर्व तामाङ समुदायले नयाँ वर्षको रुपमा मनाउने गर्छन् । हरेक वर्ष माघशुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ ।
पर्वका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष प्रचण्डलगायतले शुभकामना व्यक्त गरेका छन् ।
कूल पुजा र प्रकृति पुजा गर्दै मनाइने यस पर्वलाई तामाङ समुदायले विशेष उत्सवका रुपमा मनाउने गरेका छन् । सरल र मिलनसार यो समुदाय समूहगतरुपमा शुभकामना आदानप्रदान गर्दै मिठो मसिनो खाने र रमाइलो गर्ने गर्दछन् ।
राष्ट्रपति भण्डारी :
बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होसारजस्ता पर्वबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुने भण्डारीले बताएकी छन् । राष्ट्रिय एकतालाई थप सुदृढ तुल्याउन मद्दत पुग्ने उनको विश्वास छ ।
उपराष्ट्रपति पुन :
पुनले तामाङ सेलो गीत तथा टुङ्ना र डम्फुको सङ्गीत नेपालका सम्पूर्ण जातजातिको लोक भाकाको अभिन्न अङ्ग बनेको बताएका छन्। ‘तामाङ समुदायको महान् सांस्कृतिक पर्व तथा नयाँ वर्ष सोनाम ल्होसार-२८५८ को अवसरमा शुभकामना दिँदै उनले भाषा, संस्कार र संस्कृतिमा तामाङ समुदाय समृद्ध रहेको बताए।
प्रधानमन्त्री देउवा :
देउवाले सामाजिक, सांस्कृतिक, जातीय र धार्मिक विविधताले सम्पन्न मुलुक नेपालका विभिन्न भाषा, धर्म, वर्ण, सम्प्रदाय, जातजातिका आ-आफ्ना विशिष्ट संस्कृति र परम्परा रहेको उल्लेख गरेका छन् । कोभिड-१९ नियन्त्रणका लागि अवलम्बन गरिएका रणनीति प्रभावकारी देखिए पनि कोभिड-१९ को जोखिम कायमै रहेकाले जनस्वास्थ्य मापदण्डको पालना गर्दै यो पर्व हर्षोल्लासपूर्वक मनाउन उनले आग्रह गरेका छन् ।
एमाले अध्यक्ष ओली :
ओलीले मौलिक पुँजीका रूपमा रहेको नेपालको बहुसांस्कृतिक विशेषतालाई समृद्ध देश निर्माणमा सदुपयोग गर्नुपर्ने बताएका छन् । मुलुकका विभिन्न जातजातिका संस्कृतिमा आधारित पर्वहरू हाम्रो राष्ट्रिय एकता, पारस्परिक सामाजिक सद्भाव र सहिष्णुताका मौलिक आधार भएको उनले बताएका छन् ।
माओवादी अध्यक्ष प्रचण्ड :
प्रचण्डले परम्परागत र सांस्कृतिक महत्वका साथ तामाङ समुदायले मनाउने यस पर्वले सबै नेपालीमा सुख, शान्ति र समृद्धि पथमा लम्किरहन प्रेरणा मिलोस् भन्ने कामना व्यक्त गरेका छन् । ‘विभिन्न समुदायका यसप्रकारका सांस्कृतिक पर्वहरुले नेपालीहरु बीच आपसी हार्दिकता र सामाजिक सहिष्णुताको विकास भई राष्ट्रिय अखण्डता र ऐक्यवद्धतामा सघाउ पुर्याउँछ,’ उनले भनेका छन्, ‘संविधानले सुनिश्चित गरेको समावेशीता र समानुपातिकतालाई मजबुत गरी समाजवादी लक्ष्य हासिल गर्न र राष्ट्रिय भावनाको विकास गर्न पनि समुदायको सचेततापूर्वक खबरदारी आवश्यक छ ।’
















































