काठमाडौं । फिफा विश्वकप २०२२ को दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले कोलम्वियालाई हराएकाे छ । घरेलु मैदानमा बुधबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले १–० को झिनो जित निकालेको हो। घरेलु टोलीको जितमा लोउटारो मार्टिनेजले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो।
उनले खेलको २९औं मिनेटमा मार्काेस एकुनाको पासमा गोल गरेका थिए। जितसँगै विश्वकपमा छनोट भइसकेको अर्जेन्टिना १५ खेलबाट ३५ अंक जोडेर दोस्रो स्थानमा यथावत रहेको छ। छनोटमा अपराजित रहेको अर्जेन्टिनाले १० जित र ५ बराबरीको नतिजा निकालेको छ। अर्जेन्टिनासँगको हारसँगै कोलम्वियाको विश्वकप छनोट हुने सम्भावना न्यून बन्दै गएको छ। कोलम्विया १६ खेलबाट १७ अंक जोडेर सातौ स्थानमा रहेको छ। छनोटका शीर्ष चार टोली सिधै विश्वकपमा पुग्नेछन् भने पाँचौ हुने टोलीले प्ले अफको बाटो अपनाउनुपर्नेछ ।
















































