काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले काठमाडौंलगायत तराईका जिल्लाहरुमा आज राति ९ बजेबाट नै मत गणना शुरु गरिने बताएका छन् । आइतबार भक्तपुरको युनिक नेपाल एकेडेमीस्थित मतदान केन्द्रबाट मतदान गर्दै उनले यस्तो बताएका हुन् ।
आफ्नो मत खसालीसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै थपलियाले यस निर्वाचनमा ७० प्रतिशत भन्दा बढी मतदान हुनेमा आयोग विश्वस्त रहेको बताए । उनले आज साँझ ५ बजे मतदान कार्य सम्पन्न हुनासाथ ७ बजेसम्म मतपेटिका संकलन गरी एक घण्टा छलफलको समय राखेर आजै राति ९ बजेदेखि मतगणना कार्य प्रारम्भ हुने बताएका छन् ।
हिमाली जिल्लामा भने मतपेटिकाहरु आजै जम्मा गर्न नसकिने भएकाले भोलि बिहान ५ बजेसम्म सबै मतपेटिक जम्मा गरी मतगणना कार्य प्रारम्भ गरिने बताए । आगामी ८ दिनभित्रमा प्रत्यक्षतर्फको र मंसिर २२ गतेभित्रमा सबै नतिजा आउने उनले स्पष्ट पारे ।
‘हिमाली जिल्लामा मतपेटिका आज नै जम्मा गर्न नसकिने भएकाले भोलि बिहान ५ बजेबाट मतगणना शुरु गर्ने भनेका छौँ । ८ दिन भित्रमा सबै नतिजा दिने तयारीमा छौं । मंसिर २२ गते भित्रमा सबै नतिजा आउनेछ,’ उनले भने ।