काठमाडौं, चैत १५ गते । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य शिवचन्द्र प्रसाद कुशवाह जनमत पार्टीमा प्रवेश गर्नु भएको छ ।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जनमत पार्टीका अध्यक्ष सिके राउतले उहाँलाई पार्टीमा प्रवेश गराउनु भएको हो । त्यसक्रममा कुशवाहले बारा क्षेत्र नम्बर २ का जनताको भावना अनुसार चुनाव लड्न आफू जनमत पार्टीमा प्रवेश गर्नु परेको स्पष्ट पार्नु भयो ।
प्रतिनिधिसभा निर्वाचनमा उहाँलाई जनता समाजवादी पार्टीका रामसहाय प्रसाद यादवले ३५४ मतले पराजित गर्नु भएको थियो । तर जनताको भावना विपरीत माओवादी केन्द्रले उपेन्द्र यादवलाई उपचुनावमा लडाउने भएपछि आफूले सो पार्टी परित्याग गर्नु परेको पनि कुशवाहले बताउनुभयो ।
कार्यक्रममा बोल्दै जनमत पार्टीका अध्यक्ष राउतले आफ्नो पार्टी जनताको मात्रै नभई नेताको पनि उद्धार गर्ने पार्टी भएको दाबी गर्नुभयो ।