काठमाडौं, चैत १७ गते। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिटरब्याज पीडितसँग भेट गर्नुहुने भएको छ।
शुक्रबार गृह मन्त्रालयमा मिटरब्याज पीडित र सरकारी टोलीको दोस्रो चरणको छलफलपछि प्रधानमन्त्रीले शुक्रबार साँझसम्म पीडितसँग भेट गर्नुहुने प्रतिबद्धता सरकारबाट आएसँगै शनिबार पुनः छलफल गर्नेगरी आजको छलफल टुंगिएको हो।
छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै मिटरब्याज पीडित संघर्ष समितिका संयोजक मनोजकुमार पासवानले प्रधानमन्त्रीले आज साँझसम्म पीडित बसेकै स्थानमा पुगेर भेट गर्ने जानकारी आएको बताउनुभयो। उहाँले सरकारसँगको छलफल पनि सकारात्मक रुपमा रहेको बताउनुभयो। उहाँले आफूले देशकै गम्भीर समस्या उठाएकाले यसमा सबैको साथ रहनुपर्ने बताउनुभयो।
मिटरब्याज विरुद्धको संघर्ष समिति, नेपालले तमसुक व्यवस्था खारेज गर्न, मिटरब्याज पीडितहरुको पक्षमा कानुन निर्माण गर्ने, चेक वा तमसुकबाट लेनदेनको मुद्दा दर्ता भएपछि सम्पत्तिको स्रोत खोजी गरेर कानुन निर्माण गर्ने, साहुकारको अवैध ठहरिएको सम्पत्ति जसको नामबाट आएको हो उसैको नाममा फिर्ता हुने व्यवस्था वा जसले आफ्नो सम्पत्ति ठगी गरेको दाबी गर्छ उसकै नाममा फिर्ता हुने कानुनी व्यवस्था गर्न माग गरेको छ।