सर्लाही । सर्लाहीको रामगरमा गएराति आगलागी हुँदा दुई घर जलेका छन् । रामनगर गाउँपालिका–१ खैर्बामा शनिबार साँझ आगलागी हुँदा दुईवटा घर पूर्णरुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
आगलागीबाट थप दुईवटा घरमा आंशिक क्षति पुगेको छ । स्थानीय बाबुनन्द राय यादव र बन्ची राय यादवका घर जलेर नष्ट भएका हुन् । आगलागीबाट बन्ची यादवकै अर्को एउटा घर र रामदेव राय यादवको घरमा पनि आंशिक क्षति पुगेको छ ।
स्थानीय बासिन्दा, प्रहरी र हरिवन नगरपालिकाबाट गएको दमकलको सहयोगमा शनिबार राति करिब ८ बजे आगलागी नियन्त्रणमा आएको थियो । आगलागीबाट भएको क्षतिको विवरण संकलन गर्न बाँकी रहेको प्रहरीले जनाएको छ ।