म्याग्दी । वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसीले म्याग्दीको ग्रामीण क्षेत्रमा पुगेर बिरामीको उपचार गरेका छन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ को भुरुङ्ग तातोपानी स्वास्थ्य चौकीमा उनले आइतबार र सोमबार हाडजोर्नीसम्बन्धी बिरामीको उपचार गरेका हुन् । दुई दिनसम्म उनले एक सय २५ जनाको उपचार गर्नुभएको भुरुङ्ग तातोपानी स्वास्थ्यचौकीका प्रमुख कृष्ण केसीले जानकारी दिए ।
आइतबार ५५ र सोमबार ७० बिरामीको उपचार गर्नुका साथै परामर्श सेवा दिएका थिए । स्वास्थ्य चौकीका प्रमुख केसीसहित सिनियर अहेव विक्रम पुन, अनमी नीता पुन, सनम वुद्धुजा पुन, अहेव चौथो सङ्गीना मगरातीलगायतले डा. केसीलाई सघाएका थिए । चिकित्सा शिक्षाका अभियान्ता डा. केसीले गत हप्ता बागलुङको निसिखोला गाउँपालिकाको बोहोरागाउँ स्वास्थ्य चौकीमा तीन दिन उपचार गरेका थिए । बागलुङबाट कुनै खबर बिना भुरुङ्ग तातोपानी आएका थिए । गाउँपालिका र स्वास्थ्य चौकीले औषधिको व्यवस्थापन गरेको थियो ।
‘पूर्व जानकारी बिनै डा. केसी स्वास्थ्य चौकीमा आउनु भएको थियो’, स्वास्थ्य चौकी प्रमुख केसीले भने, ‘हामी पनि अचम्ममा पर्यौँ ।’ स्वास्थ्य चौकीले सामाजिक सञ्जाल, महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि र संघसंस्थामार्फत सेवा लिनका लागि सर्वसाधारणलाई अनुरोध गरेको थियो ।