त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि सोमबार राति उडेको फ्लाई दुबईको जहाजको इञ्जिनमा खराबी देखियो । विमानस्थलबाट उडानभरे लगत्तै उक्त जहाजको इञ्जिनमा ठूलो आवाजसहित आगोको झिल्को देखियो । विमान चालक (पाइलट) ले जहाजलाई धादिङको धार्केमाथिको आकाशमा करिब २१ हजार फिट उचाइमा करिब ११ मिनेट जहाज होल्ड गरेर जहाजको इञ्जिनको ‘कन्डिसन’ जाँच गरे । जहाजको सिङ्गल इञ्जिन खराब भएपछि आकाशमा होल्ड गरेर जाँच गरिएको थियो त्यतिन्जेलसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थमा आकस्मिक अवतरणका लागि सबै संयन्त्र तैनाथ थिए ।
टावरका एटीसीले पाइलटसँग निरन्तर ‘कम्युनिकेसन’ गरिरहेका थिए । पाइलटले जहाज सामान्य अवस्थामा रहेको र गन्तव्य जाने भनेपछि विमानस्थलका अधिकारीले उडान खुलाउने निर्णय लिए । नेपाल नागरिक उड्डयन प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार जहाजको इञ्जिनमा खराबी आएपछि आकस्मिक अवतरणको तयारी गरियो । राति ९ः२० मिनेटदेखि ९ः५९ सम्म विमानस्थमा अन्य जहाजको उडान रोकेर अवतरणको तयार गरिएको थियो । विमानस्थलमा दमकल, ‘लोकल स्ट्याण्डबाई’ गरियो । यो भनेको कुनै जहाजले खराबी देखिए इमर्जेन्सी भनी घोषणा गरेपछि आकिस्मक अवतरणका लागि गरिने अभ्यास र तैनाथ संयन्त्र हुन् ।
दमकलसहित भेहिकल, सुरक्षाकर्मी, अस्पताल सबै तयारी अवस्थामा राखियो । पाइलटले जहाज गन्तव्य पुग्छ भन्ने घोषणा गरेपछि विमानस्थलले सबै उडान खुलायो ।
काठमाडौंमा किन जहाज अवतरण गरिएन भनी सोधिएको जिज्ञासामा प्राधिकरणका सहायक प्रवक्ता भुलले जहाजको सबै पार्टपूर्जा जाँच गर्दा ठीक रहेको र जहाज गन्तव्य पुग्छ भन्ने पाइलटले निर्णय लिएपछि उक्त जहाज गन्तव्यतिर लागेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘पाइलटको निर्णय नै अन्तिम निर्णय हुन्छ । युनाइटेड अरब इमिरेट्स (युएई) मा जहाज दर्ता भएकाले उतै अवतरण गर्ने निर्णय भएको हुनसक्छ ।’