काठमाडौं । प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समिति बैठक सिंहदरबारमा चलिरहेको छ । आज (आइतबार) देखि सुरु हुने बजेट अधिवेशनको पहिलो बैठकका एजेण्डाबारे निर्णय गर्न बैठक बसेको हो । संसद् बैठक अपराह्न ४ बजे बैठक बस्नेछ ।
संसद् सचिवालयका अनुसार अधिवेशनको पहिलो दिन मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश पेस हुनेछ । अर्थमन्त्री प्रकाशशरण महतले आउँदो आर्थिक वर्षका लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल गरियोस् भन्ने प्रस्ताव पनि पेस गर्दै छन् ।
आगामी आर्थिक वर्षको बजेट जेठ १५ मा संसद्मा पेस गर्नुपर्ने संवैधानिक प्रावधान छ । त्यसअघि नै वार्षिक नीति तथा कार्यक्रम पेस हुनेछ । बजेट पूर्वको छलफल वैशाख २७ सम्ममा सक्ने सरकारको योजना छ । सभामुख देवराज घिमिरेले आउँदो अधिवेशनलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर शुक्रबार राजनीतिक दलहरूका प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए ।