झापा । पूर्वी नाका काँकडभिट्टामा चार वर्षअघि जडान गरिएका ‘सिसी क्यामेरा’ बिग्रिएपछि नयाँ थप्न सुरु गरिएको छ । भारतसँग सीमा जोडिएको र भुटान तथा बङ्गलादेशबाट नजिक रहेको कारण मेचीनगर–६ स्थित काँकडभिट्टा सुरक्षाका दृष्टिले संवेदनशील क्षेत्र मानिन्छ ।
सहरका सबै सिसी क्यामेरा काम नलाग्ने भएपछि मेची सामुदायिक सेवा केन्द्र र इलाका प्रहरी कार्यालयको पहलमा स्थानीय जनसहभागिता जुटाएर यसै साता बजार र मुख्य चोकमा २६ वटा नयाँ सिसी क्यामेरा जडान गरिएको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक भारतीले बताए ।
सीमा नाकामा आवश्यक निगरानी र अपराध न्यूनीकरणका लागि सिसी क्यामेरा अतिआवश्यक रहेको र बजार क्षेत्रमा अझै अपर्याप्त भएको उनको भनाइ छ । मेची भन्सार कार्यालय र इप्रका कार्यालय अगाडि जडान गरिएका १६ वटा क्यामेरा भने पहिल्यैदेखि चालु अवस्थामा छन् ।