धनुषा, जेठ १५ गते । जनकपुरधामकोे रामजानकी अन्तर्राष्ट्रिय रंगशालामा सोमबारबाट महेन्द्रनारायण निधि राष्ट्रिय टि—२० क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको आज एक कार्यक्रमबीच पूर्व उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले व्याटीङ गरेर उद्घाटन गर्नुभयो ।
उद्घाटन कार्यक्रममा उहाँले खेलकुदको विकासले देशको आर्थिक विकास हुने भएकाले तीनै तहका सरकारले खेलकुदको विकासलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । खेलकुद एउटा उद्योग समेत भएकाले नीजि क्षेत्रबाट पनि यसमा लगानी गर्न उहाँले आग्रह गर्नुभयो ।
उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुरधाम भ्रमणको क्रममा जनकपुरधामका लागि घोषणा गरिएको एक सय करोडको सहयोग रंगशाला निमार्णमै खर्चिनुपर्ने र यस विषयमा मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव समेत सहमत रहेको बताउनुभयो । खेलकुदलाई ग्रामीणस्तरसम्म लग्न राज्यको ध्यान जानुपर्ने भन्दै उहाँले मधेश प्रदेशका खेलाडीले राष्ट्रिय टिमका लागि गरिरहेको योगदानको प्रशंसा गर्नुभयो ।
कार्यक्रममा मधेश सरकारका शिक्षा तथा समाज कल्याणमन्त्री महेश यादवले मधेश प्रदेशमा सरकारले खेलकुद विधेयक प्रदेशसभाको समितिमा पठाइसकेको भन्दै समितिमा छलफल भएपछि विधेयक छिटट्ै पारित हुने र यसले खेलकुदको समग्र विकासमा टेवा पुग्ने बताउनुभयो ।
उहाँले पुराना खेलहरु लोप भइरहेको भन्दै त्यसको संरक्षणका लागि सरकार गम्भीर रहेको बताउनुभयो । क्यानका केन्द्रीय कोषाध्यक्ष रोशन सिंहले तीनै तहका सरकारले खेलकुदका लागि प्रयाप्त मात्रामा बजेट छुटयाउनु पर्ने धारणा राख्नुभयो ।
मधेश क्रिकेट संघका अध्यक्ष हिरा भगतको अध्यक्षतामा भएको कार्यक्रममा मधेश सरकारका स्वास्थ्यमन्त्री बिरेन्द्र सिंह, जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज साहसहितकाले प्रतियोगिताको सफलताको शुभकामना दिनुभयो । क्रिकेटका सातवटै प्रदेशका टिम सहभागी रहने उक्त प्रतियोगितामा जम्मा २२ वटा खेल हुनेछ ।
जनकपुरधामको निर्माणाधीन अवस्थामा रहेको रामजानकी अन्तर्राष्ट्रिय रंगशालाको ग्राउण्डमा प्रत्येक प्रदेशका टिमले हरेक प्रदेशसँग खेल्नेगरी एउटा टिमले प्रतियोगितामा छ वटा खेल खेल्नेछ । लिक कम नकआउट सिस्टम अर्थात प्रतियोगितामा प्राप्त गरेको खेल अंकको अधारमा सबैभन्दा बढी अंक प्राप्त गरेका दुई टिमले प्रतियोगिताको फाइनल खेल खेल्ने क्रिकेट संघ धनुषाका सचिव आशिष झाले जानकारी दिनुभयो ।
प्रतियोगिताको विजेता टिमलाई तीन लाख र उपविजेता टिमलाई २ लाख नगदसहित ट्रफी प्रदान गर्ने उहाँले बताउनुभयो । मधेश प्रदेश र कोशी प्रदेशबीच प्रतियोगिताको उद्घाटन खेल जारी छ । टस हारेका कोशी प्रदेश व्याटीङ गरिरहेको छ ।