कपिलबस्तु, कात्तिक २० गते । कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवामा अवस्थित करदाता सेवा कार्यालय खारेज नगर्न जनता समाजवादी पार्टी (जसपा) कपिलवस्तुले माग गरेको छ ।करदाता सेवा कार्यालय खारेज नगर्न जसपाले प्रमुख जिल्ला अधिकारी मार्फत अर्थ मन्त्रालयमा ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्रमा उल्लेख भएअनुसार, जिल्लाका १० मध्ये ६ वटा पालिकाका सेवा–ग्राहीहरूले विगत चार वर्षदेखि सो कार्यालयबाट सहज रूपमा कर सम्बन्धी सेवा प्राप्त गर्दै आएका छन् । तर, अर्थ मन्त्रालय अन्तर्गतको आन्तरिक राजश्व विभागले उक्त कार्यालय खारेज गर्ने सूचना प्रकाशित गरेपछि स्थानीय सेवा–ग्राहीहरूमा असन्तुष्टि र चिन्ता बढेको जसपाको भनाइ छ ।
जिल्ला अध्यक्ष इरफान खान नेतृत्वको टोलीले करदाता सेवा कार्यालय खारेज भएमा कर संकलन, विवरण अद्यावधिक, लेखा परामर्शलगायतका कार्य जटिल र असहज हुने बताउँदै खारेजीको प्रस्ताव रोक्का गरी हालको कार्यालयबाटै सेवा निरन्तरता दिन माग गरेको छ ।
















































