कपिjलवस्तु, कात्तिक १६ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कपिलवस्तुमा संगठन विस्तार र जनसम्पर्क अभियानलाई तीव्रता दिएको छ। यसैक्रममा कपिलवस्तु नगरपालिका वडा नम्बर ६ र ११ मा आयोजित अन्तरक्रिया कार्यक्रममा विभिन्न राजनीतिक दल परित्याग गरी सयभन्दा बढी नेता तथा कार्यकर्ता रास्वपामा प्रवेश गरेका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै कपिलवस्तु प्रतिनिधिसभा क्षेत्र नम्बर २ का सांसद विक्रम सिंह थापाले रास्वपाप्रति जनताको आकर्षण बढ्दै गएको बताउनुभयो। उहाँले गाउँ–गाउँमा भइरहेको भेटघाट र अन्तरक्रियाबाट परिवर्तनको चाहना तथा नयाँ राजनीतिक संस्कारप्रति जनताको विश्वास प्रकट भइरहेको उल्लेख गर्नुभयो।
थापाले जनताको साथ र समर्थनलाई आत्मसात् गर्दै कपिलवस्तुको विकास र राजनीतिक परिवर्तनका लागि पार्टी अघि बढिरहेको बताउनुभयो।
त्यस्तै, रास्वपा जिल्ला सभापति शिवकुमार सुवेदीले जनताको समर्थन कुनै एउटा पार्टीप्रतिको आकर्षणमा मात्र सीमित नभई सुशासन, इमानदारी, विकास र पुस्तान्तरणको पक्षमा उठेको आवाज भएको बताउनुभयो। उहाँले आगामी स्थानीय तहको निर्वाचनसम्म जनसमर्थन थप विस्तार हुने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा पार्टी जिल्ला सचिव यमलाल आचार्य, कोषाध्यक्ष मोहन शर्मा, सहसचिव देवेन्द्र शर्मा, क्षेत्रीय सभापति माधव पराजुली, महाराजगञ्ज नगर सभापति ओमकारनाथ शुक्ला, मायादेवी सभापति कमलेश दुबे, यशोधरा सभापति धीरेन्द्रकुमार चौधरी, कपिलवस्तु नगरपालिका सभापति रामु रेग्मीलगायत नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो।
त्यसैगरी नगर सचिव सन्तोष कसोधन, युवा नेता अमरदीप कसोधन, क्षेत्रीय सचिव गयादिन कुर्मी (दिपु) लगायतको सहभागिता थियो।
कार्यक्रम वडा सभापति शिव पाण्डेको सभापतित्वमा सम्पन्न भएको थियो भने सञ्चालन नगर सचिव सन्तोष कसोधनले गर्नुभएको थियो।
















































