रुपन्देही । सूर्य चिन्हबाट चुनाव जितेर गठबन्धनको सरकारमा सहभागि भएको भन्दै लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्री अजय शाहीलाई एमालेले स्पष्टिकरण सोधेको छ ।
विहिबार मुख्यमन्त्री कुलप्रसाद केसीले स्वतन्त्र सांसद रहेका शाहीलाई विनाविभागीयमन्त्रीको शपथ खुवाएका थिए ।
हृदयेश त्रिपाठी नेतृत्वको स्वतन्त्र राजनीतिक समूहमा रहेका शाही चार दलीय गठबन्धनमा सामेल भएपछि एमालेले आपत्ति जनाएको हो ।
स्पष्टिकरण सोध्दै एमालेले तीन दिनभित्र स्पष्टिकरण दिन भनेको छ ।
यता शाहीले भने आफू स्वतन्त्र रहेको र स्वतन्त्रलाई एमालेले कारवाही गर्न नसक्ने बताए । उनले यदि एमालेले त्यो हर्कत गरेको खण्डमा अदालत जाने चेतावनी समेत दिएका छन् ।
बुधबार मुख्यमन्त्रीबाट एमाले संसदीय दलका नेता शंकर पोखरेलले राजीनामा दिएपछि विहिबार गठबन्धनको तर्फबाट कुल प्रसाद केसीले मुख्यमन्त्रीको शपथ लिएका थिए ।
साथै एमालेले उक्त गठबन्धनमा सामेल भएकी तत्कालिन नेकपाबाट चुनाव जितेकी सांसद विमला खत्रीलाई पनि कारवाही गर्ने बताएको छ ।
एमाले संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले एमालेको सूर्य चिन्हबाट चुनाव जितेपछि दलको ह्वीप लाग्ने भन्दै कारवाही गर्न लागिएको जानकारी दिए ।

















































