नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबलमा नेपाल २-१ गोलअन्तरले पराजित भएको छ । दशरथ रंगशालामा आइतबार भएको खेलमा पाहुना टोली भारतले दोस्रो हाफमा दुवै गोल गरेको हो ।
भारतका लागि खेलको ६२औँ मिनेटमा फारुक हाजी कासम चौधरीले पहिलो गोल गरे । दोस्रो गोल कप्तान सुनील क्षेत्रीले ८०औँ मिनेटमा गरे ।
नेपालले एक गोल फर्काएको छ । ८६औँ मिनेटमा नेपालका लागि तेज तामाङले गोल फर्काएका हुन् ।
यसअघि पहिलो खेल बराबरीमा सकिएको थियो । विश्व फुटबल महासंघ (फिफा)को वरीयतामा नेपालभन्दा भारत ६३ स्थान माथि छ। वरीयताअनुसार भारत १०५औँ स्थानमा छ भने नेपाल १६८औँ स्थानमा छ । हालसम्म दुवै देशबीच २० पटक फुटबल मैदानमा भिडन्त भएको छ। भारत १३ खेलमा विजयी हुँदा नेपालले दुई खेल मात्र जित्न सकेको छ। दुवै टोलीले पाँच खेल बराबरी खेलेका छन्।
















































