–बबिता गिरी
दाजु भाई दिदी बहिनीहरुको चाडपर्व भाई टिका, महिलाहरूको तिज, गुरुको गुरु पुर्णिमा र आमाको आमा औंशी भए झै आज भाद्र कुशे औंसी, बुवाको मुख हेर्ने दिन ।
यस दिन आफ्नो बुवालाई भेटेर मिठा परिकार खान दिने, उपहार दिने र आशिर्वाद लिने चलन छ । बुवालाई भेट्न नसक्नेहरुले भने टेलिफोन , भिडियो कल वा सामाजिक संजालमा बुबाको फोटो पोस्ट गरेर सम्झिने गर्दछन् ।
‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीहरूले आफ्ना बुवालाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्ने विश्वास छ ।
बुवा नहुनेहरू विभिन्न पवित्र स्थानमा गई आफ्ना बुवाको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन् । यस अवसरमा विभिन्न ठाउँमा रहेका मन्दिर परिसरमा दिवंगत बुवाको नाममा तर्पण, पिण्डदान तथा सिदादान दिने गरेको पाइन्छ।
अघिल्ला वर्षहरुमा मन्दिर परिसरमा तर्पण, पिण्डदान तथा सिदादान दिने हरूको भीड लाग्ने गरे पनि करिब दुई वर्ष यता कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले गर्दा अघिल्ला वर्षहरुमा जस्तो भिडभाड भने कम रहेको पाइन्छ ।
रक्षाबंधनमा धर्म दाई भाई धर्म दिदी धर्म बहिनी बनाएर रक्षाबंधनमा बाधेर जस्तै बुबा को मुख हेर्ने दिनमा पनि धर्म बुवा धर्मपुत्र बनाएर सन्तानले आज बुवाको मुख हेर्ने चलन छ।
वर्षका सबै औँसी पितृको रहे पनि सबै औँशीमा पितृको कार्य गर्न नसक्नेले यो कुशे औँसीका दिन भने टुटाउन नहुने ज्योतिषीय मान्यता रहेको छ ।
यस दिनमा घरघरमा कुश भित्र्याएर कुशको अर्चना गर्ने गरिन्छ । कुश, तुलसी र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मानिएको छ । भगवान् इन्द्रले स्वर्गबाट कुश, तुलसी र शालिग्राम पठाएको भन्ने कथन छ ।
हाम्रो धर्म संस्कृति रीतिरिवाजले जिवन जिउने कला सिकाएको छ । वैदिक सनातन हिन्दू संस्कारमा कुश एउटा अत्यन्त महत्वपूर्ण वनस्पति हो। सास्कृतिक र धार्मिक भूमिका निर्वाह गरेको पवित्र घाँस कुश हो ।
वैदिक सनातन हिन्दू संस्कारको देव कर्म र पितृ कर्म दुबै मा न भै नहुने बनस्पति कुशका जराबाट विभिन्न प्रकारका औषधिहरु पनि बनाइन्छ ।
कुशको धेरै विशेषताहरू मध्ये एउटा अर्को विशेषता दाहिने हातको औँलामा कुशलाई औँठी रुपमा प्रयोग गर्दा वातावरणमा भएका गलत तरंग र विकिरणहरुलाई निस्तेज गर्ने विश्वास र वैज्ञानिक प्रमाणीत सिद्धान्तहरुले स्पष्ट पारेको छ । कुशेऔँसी र बुवाको मुख हेर्ने दिन जस्ले मानिसको जिवनलाई सहज र आफ्नो दायित्व बोध गराउनमा ठूलो भूमिका निर्वाह गरेको छ ।
एकातिर कुशको उत्तिकै धार्मिक र वैज्ञानिक महत्त्व छ भने अर्को तिर बुवाको मुख हेर्ने दिनको पनि तेती नै महत्त्व रहेको छ । बुवाको महत्त्व र बुवा प्रति सन्तानको दायित्व बोध गराएको छ।
छोराछोरीले जुनसुकै सफलता हासिल गर्नुको पछाडि बुवाको ठूलो हात रहेको हुन्छ । आमाले नौ महिना सम्म सन्तानलाई राख्ने कोखको जति प्रसंसा र सम्मान गरिन्छ त्यति नै बुबाको संर्घष र त्यागको पनि सम्मान गरिनु पर्छ ।
बुवा घरको जग हुन पिलर हुन जस्ले घरलाई बलियो बनाउँछ । जाडो मौसमको न्यानो पन आमा हुन भने न्यानो पन बनाई राख्न त्यो चिसो सिरेटोलाई रोक्ने भित्तो बुवा हो ।
त्यसैले आज बुवाको रुखो र कठोर आवाज भित्रको स्नेहलाई बुझ्ने कोसिस गरौँ । पिता नै एउटा यस्तो व्यक्ति हो जस्ले तपाईलाई आफू भन्दा सफल भएको देख्न चाहन्छ । बुवा निमको पात जस्तै हुन जो तितो भए पनि फलदायी हुन्छन्
अहिले मानिसहरू शिक्षीत हुदै गए र मानिसहरू को सोचमा पनि धेरै परिवर्तनहरु आयो बढ्दै गएको आधुनिकता सँगै बुढेसकालले छोएका बुवाआमालाई बृद्धआस्रममा राख्ने चलन चलेको देखिन्छ । कहिले छोरा छोरी ठूला होलान सफल होलान अनि हाम्रो बुढेसकालको साहारा होलान भनि सपना बुनेका बुवा आमाहरु आज उनै सन्तानबाट आश्रम पुर्याईएका छन् ।
जो पक्कै पनि राम्रो कुरा होइन यदि त्यस्तो सोच हामीमा पनि छ भने याँद राखौँ जिवन चर्खा जस्तै घुमिरहन्छ भोलि हामी पनि बुवा आमा बन्ने छौँ हाम्रा पनि छोरा छोरी हुनेछन् ।
हाम्रो आनिबानी हाम्रो व्यवहार र गुण भोलि हाम्रो सन्तानमा पनि हुनेछ । त्यसकारण आफ्ना बुबा आमा लाई हेला व्यवहार गर्दै हुनुहुन्छ भने विचार गर्नुहोस् हजुरको सन्तानले पनि तिनै व्यवहार सिकिरहेको छन् ।
यदि सम्पति नभएकै कारणले बुवालाई दुःख दिने हेला गर्ने गर्नु भएको छ भने एक पटक याँद गरौँ हिजोका ति दिनहरु जब हिड्न खोज्दा तपाईंका पाईला लरवरिएका थिए तब ताते ताते गर्दै पाईला सार्न तपाईलाई कस्ले सिकाएको थियो ?
आज जसरी स्पष्ट संग चर्का आवाज बुबा आमा माथि बर्षाउदै हुनुहुन्छ हिजो तपाईं तोते बोली बोल्दै गर्दा तपाईलाई एक एक शब्द बोल्न कस्ले सिकाएको थियो?
जब तपाईं को साथ मा आफ्नो सम्पत्तिको रुपमा केही थिएन तब पनि केही झर्को नमानि जति जना सन्तान भए पनि एउटै घरमा मायाँ सहित कस्ले राखेको थियो ?
आजको दिन ति सबै कुरा याद गरौँ जसको कारण ले आज तपाई यहाँ हुनुहुन्छ ।
सक्छौ भने आजबाट एउटा प्रश्न गर्ने शैली परिवर्तन गरौँ बुबा आमा कुन सन्तान संग हुनुहुन्छ भनेर प्रश्न गर्नेहरु बुबा आमा संग कुन सन्तान छ भनेर प्रश्न गरौँ।
आफुले बुवालाई गरेको मायाँ अन्यलाई जानकारी दिउ ताकि उहाँहरूले पनि राम्रो कुराको सिको गरुन
जिम्मेवारीले थिचेर धेरै अस्तव्यस्त भएका हामी आज थोरै बालापन सम्झिएर मुस्कुराए हुदैन र?
जन्मदिने बुबा आमा साथ मै हुनुहुन्छ भने आज वहाँहरुको समिपमा बसेर थोरै समय ब्यतित गरौँ साथ मा हुनुहुन्न भने एकफेर खुसी साथ वहाँ लाई स्मरण गरौँ।
















































