काठमाडौँ। नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । बुधबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने गरी बैठक बोलाइएको हो।
मन्त्रिपरिषद् विस्तारको तयारी भइरहेकाले मन्त्री छनोट गर्न बैठक बोलाइएको बताइएको छ। स्रोतका अनुसार माओवादी केन्द्रबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम आजै टुंग्याउने तयारी छ।
असार २९ गते सरकारका नेतृत्व सम्हालेका काँग्रेस सभापति देउवाले ७० दिनसम्म पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकमा आ–आफ्ना पार्टीमा छलफल गरेर मन्त्रीको नाम पठाउने सहमति भएको थियो ।
त्यही अनुसार काँग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादी पार्टीको बैठक आज बस्दै छ ।
















































