काठमाडौं । नेकपा माओवादी केन्द्रले आज देशभर एकसाथ पार्टीको वडा अधिवेशन गर्दैछ । आगामी पुसमा हुने राष्ट्रिय सम्मेलनका लागि माओवादी केन्द्रले शनिबार वडा अधिवेशन गर्न लागेको केन्द्रीय निर्वाचन आयोगले जानकारी दिएको छ । आयोगका अनुसार अध्यक्ष पुष्पकमल दाहालले भर्चुअल माध्यमबाट बिहान ११ बजे वडा अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ ।
माओवादीको निर्वाचन आयोगले देशभरका ६ हजार ७ सय ४३ वडामा निर्वाचन समिति बनाएको छ । निर्वाचनका लागि आयोगले प्रत्येक वडामा तीन सदस्यीय निर्वाचन समिति खटाउने जानकारी दिएको छ।
माओवादीले वडा अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्न यथाशक्य प्रयास गर्न निर्देशन दिएको छ । निर्वाचनमा जानै परेको खण्डमा पनि समूहगत निर्वाचनमा जान नपाइने माओवादीको निर्देशन रहेको छ ।
















































