साझा न्यूज । कपिलवस्तु
नेपाली कांग्रेसको १४ औं महाअधिवेशन अन्र्तगत लुम्विनी प्रदेश समितिको सदस्य पदमा पुर्व राजदुत एवं पुर्व मन्त्री दीप कुमार उपाध्यायका पुत्र आशीष शर्माले उम्मेदवारी दिने घोषणा गरेका छन् । नेपाली कांग्रेस कपिलवस्तुको राजनितिमा प्रत्यक्ष रुपमा उत्रिएका युवा नेता शर्मा जिल्लाका लोकप्रिय युवा नेता हुन् ।
पिताको राजनिति कर्मको पद चापलाई पछ्याउंदै युवा नेता शर्माले पनि आफु नेपाली कांग्रेसको राजनितिमा सक्रिय हुने उद्घोष गरेका छन् । राजनितिलाई पेशा होईन रुचि बनाउंछु, नेता शर्माले भने, “अब युवाहरुले राजैतिक नेतृत्व लिन अग्रसर हुनु पर्ने बेला आएको छ ।”
विपीको प्रजातान्त्रिक समाजवादको अनुयायी हुं । मेरो राजनैतिक उद्देश्य पार्टी संगठन विस्तार नै हो । आम कांग्रेसी नेता कार्यकर्ताहरु माझ एकताको सन्देश लिएर अघि बढेको छु । सवैको साथ र माया पाउने अपेक्षामा छु, उनले भने ।
नेता शर्माले थाईलैण्डको ईस्टिच्युट अफ टेक्नोलोसीबाट एम.वि.ए.उत्तीर्ण गरेका छन् । नेता शर्मा हाल नेपाली कांग्रेस लुम्विनी प्रदेश स्तरीय उद्योग तथा व्यापार विभागको संयोजक समेत रहेका हुन् । उनी कपिलवस्तु क्षेत्र नं. १ को क बाट सवै भन्दा बढी मत प्राप्त गरी महाधिवेशन प्रतिनिधीमा निर्वाचित भएका छन् ।

निजी क्षेत्रको उच्च पदको जागिर त्यागेर प्रत्यक्ष राजनितिमा उत्रिएका नेता शर्मालाई कांग्रेसका अगुवा नेता कार्यकर्ताहरुको ठुलो सहयोग समेत रहेको छ । जिल्लाको राजनितिमा ईमान्दार त्यागी तथा निष्ठावान् नेता सुधाकर पाण्डेयलाई म नेता मानेर अघि बढ्छु, उनले भने, “दक्षिण र उत्तरलाई जोडेर मजबुत कांग्रेस बनाउने मेरो सपना छ । त्यसका लागि नेता सुधाकर पाण्डेयको साथ सहयोग र सरसल्लाहमा अघि बढ्ने छु ।”
नेता शर्मा जिल्लामा देउवा गुटमा देखिएका छन् ।
















































