काठमाडौं । दक्षिण अफ्रिकाबाट शुरू भएको कोरोनाभाइरसको ओमिक्रोन भेरियन्ट भारतमा पनि भेटिएको छ ।
दुई दर्जन भन्दा बढी देशमा पुगिसकेको भाइरस भारतमा पनि भेटिएसँगै नेपाल झन असुरक्षित बनेको छ ।
भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले कर्नाटका राज्यमा दुई जना पुरूषहरूमा कोरोनाको ओमिक्रोन भेरियन्टको संक्रमण भेटिएको जानकारी दिएको छ।
यसरी संक्रमित हुनेहरुमा ६६ र ४६ वर्षीय मानिसहरु रहेका छन् । हाल उनीहरुको सम्पर्कमा आएकाहरूको कन्टयाक्ट ट्रेसिङको काम भइरहेको छ।
यसअघि बुधबार संयुक्त राज्य अमेरिकामा उक्त भेरियन्टका संक्रमित भेटिएका थिए।
भारतमा भेटिएको डेल्टा भेरियन्ट भन्दा पनि यो प्रजाति निकै संक्रामक र घातक रहेको बताइएको छ । जसको कारण विश्वका विभिन्न देशहरुले दक्षिण अफ्रिकामाथि प्रतिबन्ध लगाएका छन् भने अन्य देशहरुबाट हुने आवागमन पनि कडा बनाएका छन् ।
भारतमा संक्रमित देखिएसँगै नेपालमा पनि यो भाइरस फैलिन सक्ने सम्भावना बढेको छ ।















































