ललितपुरको सुनाकोठीस्थित बालकुमारीको मन्दिरमा रहेको ऐतिहासिक मूर्ति चोरी भएको छ । महानगरिय प्रहरी वृत्त चापागाउँका डिएसपी टेकबहादुर कार्कीका अनुसार शनिबार राति बालकुमारी मन्दिरबाट मूर्ति हराएको हो ।
३ सय वर्ष हाराहारी पुरानो मूर्तिमा स्थानीयले चढाएका गरगहनासमेत चोरी भएको बागमती प्रदेशसभाका सासंद राजकाजी महर्जनले जनाएका छन् । उनले भने, ‘मूर्तिचाहिँ पित्तलको हो, तर हाम्रा जिजुबराजुको पालाको !’ केही गहना भने लकरमा राख्ने गरिएको जानकारी दिँदै उनले मूर्ति रातको १ बजेदेखि २ बजेभित्र चोरी भएको बताए ।
उनका अनुसार करिब २० वर्षअघि यो मूर्ति कुर्न स्थानीयवासी राति मन्दिरमै सुत्ने गर्दथे । समस्या आएपछि त्यहाँ मूर्ति कुर्न पनि छोडिएको थियो ।
बालकुमारी चौरमा समेत बालकुमारी मन्दिर रहेको छ । यस मन्दिरलाई पिठ मानिन्छ । पिठ मन्दिरलाई आमा मानिन्छ भने सुनाकोठी बजार क्षेत्रमा रहेको मन्दिरलाई छोरी मानिन्छ ।
हरेक वर्ष मंसिर र वैशाखमा यस मन्दिरमा जात्रा लाग्ने गर्छ ।
प्रहरीले घटनास्थल पुगेर घटना विवरण लिएलगत्तै अनुसन्धान सुरु गरिएको डिएसपी कार्कीले बताए ।
















































