Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

नेवार समुदायको मौलिक पर्व ‘य:मरी पुन्हि’, धुमधामले मनाइँदै

Author Avatar साझा न्यूज 8th December 2022 , 12:37 PM
नेवार समुदायको मौलिक पर्व ‘य:मरी पुन्हि’, धुमधामले मनाइँदै
  • रासस

लामो इतिहास, संस्कृति, परम्परा अनि सम्पदाले भरिपूर्ण काठमाडौँ उपत्यका, यहाँका रैथाने नेवार समुदायले मनाइने अनेकौँ चाडपर्वको आफ्नै महत्व र विशेषता छ । यस्तै पर्वमध्ये एउटा प्रमुख र मौलिक पर्व हो, ‘य:मरी पुन्हि’ ।

हेमन्त ऋतुमा पर्ने यो पर्व मार्ग शुक्ल पूर्णिमा अर्थात् धान्य पूर्णिमाको अवसरमा आज धुमधामले मनाइँदैछ । नेपाल संवत्को दोस्रो महिना थिंलामा पर्ने भएकाले यसलाई ‘थिंला पुन्हि’ पनि भनिन्छ ।

नेवार समुदायमा कृषिसम्बन्धी धेरै चाडपर्व हुने गर्दछन् । मौसमअनुसारको खानपान गर्न सिपालु नेवार समुदायले त्यही खाने पकवानको नामबाटै पनि चाडपर्वलाई परिचित गराएका छन् । मार्ग शुक्ल पूर्णिमाको दिन मनाइने य:मरी पुन्हि पनि यस्तै एउटा पर्व हो, जसको नाम स्वादिष्ट पकवान य:मरीबाट प्रख्यात छ ।

“यस पर्वमा विशेष गरी चामलको पिठोबाट बनाइने स्वादिष्ट पकवान य:मरी खाने र पूर्णिमाको दिन मनाइने भएकाले यस पर्वको नाम य:मरी पुन्हि रहन गएको हो”, संस्कृतिकर्मी ओमप्रसाद धौभडेलले भन्नुभयो । कृषि कर्म गर्नेका लागि मार्ग शुक्ल पूर्णिमा ठूलो पर्व हो । यस दिन पुर्वी पहाडी जिल्लाका किराँत समूदायले उभौली पर्व मनाउँछन् । त्यस्तै उपत्यकाका नेवारभित्रकै ज्यापु समुदायले ज्यापु दिवसका रूपमा पनि यो पर्वलाई मनाउने गर्दछन् । खसआर्य समुदायले पनि यस दिनलाई ठूलो दिनको रुपमा कुलपूजा, देवाली पूजा गर्ने प्रचलन रहेको छ ।

नेपाल भाषामा ‘य:’ भनेको मनपर्ने र ‘मरी’ भनेको रोटी वा मिठाई भन्ने अर्थ लाग्छ । य:मरी लाई पञ्चतत्वको रुपमा पनि स्वीकार गर्छन् । य:मरीमा धरतीको रुपमा चामलको पिठो, अग्निको रुपमा चाकु, जलको रुपमा पानी, आकाशको रुपमा खाली ठाउँ र वायुको रुपमा तिललाई लिइन्छ ।

नयाँ धान भित्र्याएको खुसियालीमा हर्षोल्लासका साथ यो चाड मनाइन्छ । भर्खरै भित्र्याइएको नयाँ धानको चामलबाटै य:मरी बनाउने र नयाँ अन्न राखिएको भकारी एवं भण्डारमा या:मरीलगायत लक्ष्मी, गणेश, कुवेर, नाङ्लो, सुकुन्दा, कुचो समातेको मान्छे, पानस, कछुवा आदिको मूर्तिसहित चेप्टो सानो सानो पात आकारको ल्होँचामरी (मुतुमारी) बनाई पूजा गरी चढाउने गरिन्छ ।

धानका भकारीलगायत अन्नका भण्डारमा य:मरी चढाउँदा धनलक्ष्मी खुसी हुने र त्यसको प्रभावमा घर अन्नले भरिपूर्ण हुने र धनलाभ हुने जनविस्वास रहिआएको छ । यसरी चढाएको य:मरी चार दिनपछि प्रसादको रूपमा परिवारमा बाँडेर खाने चलन रहेको छ ।

य:मरी पुन्हिको साँझपख टोलटोलमा केटाकेटी, युवायुवती जम्मा भई यो:मरी माग्ने प्रचलन पनि रहेको छ । यो एक प्रकारले देउसी, भैलोजस्तै प्रचलन हो । य:मरी माग्ने प्रचलन यस दिनको एक महत्वपूर्ण सांस्कृतिक पक्ष पनि हो जसलाई ‘त्यसिंत्य’ भन्ने गरिन्छ ।

य:मरी माग्दा यसरी गीत गाउने गरिन्छ ।

त्य छिं त्य, बक छिं त्य
थाबले यागु सामा वल:, य:मरी छग: ती य:
व्यूसा ल्यासे म्ह, मव्यूसा सितिकुती
न्यग व्यूसा काय् वुई, छग व्यूसा म्याय् वुई
तालापाता कुलिचां जुसें त्य:
य:मरी माकु, उकि दुने चाकु
व्यूसा ल्यासेचा, मव्यूसा बुरीचा

अर्थात् चार माना, दुई माना अट्ने भाँडामा देउ, यो सालको बाली भित्रियो य:मरी एउटा देउ, य:मरी दिए तरुनी नदिए चाउरी बूढी, दुईटा दिए छोरा जन्मिन्छ एउटा दिए छोरी जन्मिन्छ, मानापाथी भरिभरि देउ, य:मरी मीठो, त्यसभित्र चाकु, दिए तरुनी नदिए बूढी ।

उल्लेखित लोकभाका आजका नयाँ पुस्तालाई गाउन त आउँछ, तर उनीहरु सो भाका गाउँदै य:मरी माग्न भने जान छाडेका छन् । युवा वर्ग आधुनिक संस्कृतिमा रम्न थालेसँगै लोक संस्कृतिबाट विमुख हुँदै जाँदा य:मरी माग्न छाडेपछि यो प्रचलन लोप हुँदै गएको संस्कृतिकर्मी बताउँछन् ।

य:मरी नयाँ धानको चामलको पिठोबाट बनाइन्छ । चामलको पिठोलाई शुद्ध घ्यू हालेर तातो पानी हाल्दै मुछ्नुपर्दछ । य:मरीको लागि ताइचिन धानको चामलको पिठो भए राम्रो मानिन्छ । नरम हुने गरी मुछिएपछि हावाबाट बचाउन सफा मलमलको कपडाले छोप्नुपर्छ । हावाको प्रत्यक्ष सम्पर्क परेमा मुछिएको पिठो कडा हुने डर हुन्छ । पिठो कडा भएमा य:मरी बनाउन कठिन पर्ने र य:मरी फुट्ने डर हुन्छ ।

त्यसपछि पिठोको डल्लोलाई चोर औँलाले छेड्नुपर्छ । औँला घुमाउँदै जाँदा पिठोको डल्लो पातलिँदै जान्छ । पातलो डल्लो झन्डै शङ्खको आकारमा परिणत हुन्छ । यसरी गर्दै जाँदा माथिल्लो भाग मन्दिरको गजूरजस्तै चुच्चो पर्दै जान्छ र तल्लो भागमा खोक्रो ठाउँ बन्छ । सो खोक्रो भागमा चाकु राखेर बन्द गरिन्छ र य:मरी तयार हुन्छ । आजभोलि खुवा, मासु, गुँदपाक, मास, मुँगीलगायत सामग्री राख्ने प्रचलन पनि रहेको छ ।

य:मरी तयार भएपछि एउटा भाँडोमा पानी उमाल्ने र उम्लिएको पानीको भाँडोमा पिँधमा प्वाल प्वाल भएको हाँसी (माटोको विशेष प्रकारको भाँडो) राखिन्छ । सो हाँसीमा य:मरी राखेर बाफले य:मरी पकाइन्छ । करिब पाँच मिनेट जति बफाएपछि य:मरी तयार हुन्छ । अचेल म: म: पकाउने भाँडाको प्रयोग गरिन्छ ।

पानीको बाफबाट पकाइने यो पकवान निक्कै स्वादिलो हुन्छ । त्यसैले यो सबैलाई मन पर्दछ । सबैलाई मन पर्ने रोटी भएकाले नै यसको नाम य:मरी अर्थात् मनपर्ने रोटी रहन गएको इतिहास तथा संस्कृतिविद प्रा डा पुर्षोत्तमलोचन श्रेष्ठ बताउहुन्छ ।

नेवार समुदायमा य:मरीको सांस्कृतिक एवं धार्मिक महत्व रहेको छ । धनसम्पत्ति बृद्धि र धनधान्यले भरिपूर्ण हुने जनविश्वासले नेवार समुदायमा य:मरी पुन्हिका दिन सबैले य:मरीसहित विभिन्न देवीदेवताको पूजा गरी दान गर्ने गरिन्छ ।

विशेष गरी जन्मदिनलगायतका विशेष शुभकार्यमा य:मरी नभई नहुने पकवानमध्ये एक हो । य:मरी मठमन्दिर, मानिसको जोडा जन्मदिनजस्तो दुई वर्ष, चार वर्षको जन्मदिनको अवसरमा नभई नहुने पकवान भएको प्रा डा श्रेष्ठले बताउनुभयो । “बच्चाहरूको जन्मदिन मनाउँदा १२ वर्षसम्म य:मरीको माला बनाई पूजा गर्नुपर्ने र माला लगाइदिने चलन छ”, श्रेष्ठले भन्नुभयो ।

त्यस्तै छोरीको गर्भावस्थामा बच्चा जन्मिनु केही समय अघि माइतीबाट दही च्यूरा खुवाउन जाने चलन छ । त्यसबेला पनि कुनै कुनै समुदायमा एक सय आठ वटा य:मरी लैजानुपर्ने चलन रहेको छ । त्यस्तै नयाँ घर वा मन्दिर बनाउँदा अनि मन्दिरमा नयाँ पताका चढाउँदा पनि घर र मन्दिरको धुरीबाट पूजा गरेर य:मरी खसाल्ने चलन छ ।

वैज्ञानिक हिसाबले पनि य:मरीको महत्व रहेको पाइन्छ । जाडो महिनामा मनाइने य:मरी पुन्हिमा पकाइने पकवान य:मरीमा रहेको चाकु र तिलले शरीरमा न्यानो दिने र चिसोबाट हुने विभिन्न रोगबाट समेत सुरक्षित राख्न मद्दत गर्दछ ।
यस पूर्णिमाका रातलाई सबैभन्दा लामो रातको रुपमा पनि लिइन्छ । यस रातका सुत्न नपुग्ने मान्छेलाई जिन्दगीमा कहिले पनि सुत्न पुग्दैन भन्ने लोककथन पाइन्छ । यस पूर्णिमाको भोलिपल्टदेखि य:मरीको चुच्चो जतिकै दिन लम्बिन्दै जान्छ भन्ने जनविश्वास पनि रहेको छ ।

धार्मिक कथनअनुसार तत्कालीन पांचाल देशमा सुचन्द्र नाम गरेका दानी महाजनको पतिपत्नी दुवैले गरिबप्रति अत्यन्त दया राखी खानेकुरा र लुगाफाटा दान गर्ने गर्दथे । उनीहरुको दयालु स्वभावको सर्वत्र चर्चा थियो । एक दिन कुबेरले यी दुवै पतिपत्नीको एक पटक परीक्षा गर्नुपर्‍यो भन्दै गरिबको भेष धारण गरी सुचन्द्रको घरआँगनमा माग्न गएछन् । गरिब रूप धारण गरेको कुबेरलाई सुचन्द्र दम्पतीले साहै्र श्रद्धापूर्वक घरभित्र लगेर नयाँ लुगा लगाउन दिई मीठोमीठो खाने कुरा खुवाएछन् । त्यसपछि गरिबरूपी कुबेरलाई साह्रै लज्जा भएछ र उनले आफ्नो सक्कली रूपमा दर्शन दिएछन् । केही बेर ज्ञानगुणका कुराहरू गरेछन् । त्यसपछि य:मरी बनाउने विधि सिकाइ बफाउने तामाको भाडासमेत दिई अन्तघ्र्यान भएछन् ।

कुबेरले सिकाएबमोजिम सुचन्द दम्पतीले नयाँ चामलको पिठोको य:मरी, कुबेर र अन्नपूर्ण देवी बनाई अन्नको भकारीमा चार दिनसम्म पूजा गरेछन् । य:मरी आफूले खाई अरूलाई पनि बाँडेछन् । त्यसपछि उनीहरुले अन्नहरू जति दान दिन्छन् त्यति नै भरिने भएछ । श्रीसम्पत्ति पनि अभिवृद्धि भएछ । कुबेरको प्रतीक य:मरी बनाई धानको भकारीमा राखी पूजा गर्नाले धान कहिल्यै पनि नसकिएको हुनाले त्यस बेलादेखि नै यो परम्परा चलेको हो भन्ने जनश्रुति छ ।

यो चाड बौद्धमार्गीले पनि मनाउँदै आएका छन् । बौद्धमार्गीले य:मरीको प्रतीकलाई चैत्यको रूप हो भन्छन् भने हिन्दूमार्गी नेवारले सिन्हम्हुको प्रतीक भनेर अथ्र्याउँदै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

राजपुरका ३९ अति विपन्न परिवारलाई निःशुल्क खानेपानीको धारा

राजपुरका ३९ अति विपन्न परिवारलाई निःशुल्क खानेपानीको धारा

‘भारतले मात्र होइन, नेपालले पनि जग्गा मिचेको छ’

‘भारतले मात्र होइन, नेपालले पनि जग्गा मिचेको छ’

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज