डिल्लीबजारस्थित कारागार कार्यालयका केही कैदीबन्दी भाग्न खोजेपछि बुधवार बिहानैबाट त्यहाँको स्थिति तनावग्रस्त भएको थियो । यति बेलासम्म सेनाले स्थितिलाई नियन्त्रणमा लिइसकेको छ ।
आज बुधवार बिहानदेखि भाग्न चाहनेले नै होहल्ला गरेपछि सेना पुगेको हो । यद्यपि, अहिले त्यहाँ जेलर, प्रशासन प्रमुखसहित कोही पनि कर्मचारी छैनन् । सेनाले हाई अलर्ट पोजिसन लिएपछि भित्र होहल्ला र आगजनी प्रयास गर्ने कैदीबन्दी पछाडि हटे । उनीहरूलाई सेना ‘सुरक्षित स्थान’ भन्दै अन्यत्र लिएर गएको छ । तर, त्यो ‘सुरक्षित स्थान’ कहाँ हो ? केही खुलेको छैन ।
भाग्न नहुने पक्षका बन्दी भने त्यहीँ छन् । तीमध्ये विभिन्न क्षेत्रमा नाम चलेका व्यक्ति रहेका छन् । त्यहाँ बैंकिङ ठगीका बन्दीहरू कमल ज्ञवाली, इच्छाराज तामाङ, सहकारी ठगीका केबी उप्रेती, यामबहादुर मल्ल, गुण्डा नाइके दीपक मनाङे, तत्कालीन कोशी प्रदेश सभाका सचिव गोपाल पराजुली, पृथ्वी मल्ललगायतका छन् ।











































