तौलिहवा(कपिलबस्तु), असोज ८ गते । जिल्लाको शिवराज नगरपालिका १ उमरीचोकमा पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बस पल्टिँदा १० जना घाइते भएका छन् । काठमाडौँबाट नेपालगन्जतर्फ जाँदै गरेको ग १ ख ९७०० नम्बरको यात्रुबाहक बस अनियन्त्रित भई सडकको बांया पट्टि पल्टिदां दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक रिपेन्द्र कुमार सिंहका अनुसार बसमा सवार मुगुको खट्याङ गाउँपालिका–७ की ५० वर्षीया राधिका शर्मा गम्भीर घाइते भएकी छन् । उहांलाई थप उपचारका लागि बुटवल पठाइएको छ ।
दुर्घटनामा राधिकाको छोरा २१ वर्षीय विकास शर्मा, अछाम कमल बजार नगरपालिका–५ का २७ वर्षीय शिवराज अधिकारी, बाँके बैजनाथ गाउँपालिका–१ का २६ वर्षीय विवेक खत्री घाइते भएका छन् ।
त्यस्तै लमजुङ महेपालका ६४ वर्षीय पुण्यनिधि घिमिरे, दुर्गादेवी अधिकारी, दैलेख दुल्लु नगरपालिका–६ का तिलक खड्का, कालिकोट राजकोट नगरपालिकाकी सरिता आचार्य, कास्कीको लेखनाथ नगरपालिकाका विजय रानाभाट र जाजरकोट भेरी नगरपालिका–३ का मदन थापा घाइते भएका छन् ।
सामान्य घाइते भएका नौ जनाको चन्द्रौटाको संजिवनी सामुदायिक अस्पतालमा उपचारपछि घर फर्किएका छन् । बस र चालक प्रहरी नियन्त्रणमा रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक सुजन विक्रम शाहले बताउनुभयो । बाटोमा एक्कासि ट्रक आउँदा ब्रेक लगाउने क्रममा बस पोलमा ठोक्किएर पल्टिएको उहाँको भनाई छ ।
















































