कपिलवस्तु, १४ भदौ । कपिलवस्तु नगरपालिका–३, सिकोटावास्थित मदरसा सुत्राते इस्लामिया शिवा आधारभूत विद्यालयमा एकदिने निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न भएको छ।
भवानी भिक्षु युवा क्लब कपिलवस्तुको आयोजनामा सञ्चालित शिविरमा ९० जनाभन्दा बढी स्थानीयले आँखा परीक्षण सेवा लिएका थिए । गाउँघरमै सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको शिविरबाट स्थानीय नागरिक लाभान्वित भएका छन्।
शिविरमा आँखा परीक्षण गरिएका बिरामी मध्ये २५ जनामा मोतियाबिन्दुको समस्या देखिएको नेपाल नेत्र ज्योति संघका दृष्टि विशेषज्ञ प्रमोद यादवले वताए। मोतियाबिन्दु देखिएका बिरामीहरूको निःशुल्क शल्यक्रियाका लागि केही दिन भित्रै नेपाल नेत्र ज्योति संघ कपिलवस्तु शाखा आँखा अस्पतालको सहकार्यमा आवश्यक व्यवस्था मिलाइने आयोजकले वताए।
शिविरमा सहभागी बिरामीलाई चिकित्सकको सल्लाहअनुसार आवश्यक निःशुल्क औषधि समेत वितरण गरिएको थियो।
कार्यक्रम सम्पन्न गर्न तौलेश्वरनाथ सामाजिक विकास संस्थाले सह–आयोजकको भूमिका निर्वाह गरेको थियो। युनिक एग्रो सेन्टर एण्ड रूपक भेट फर्माले आर्थिक सहयोग गरेको थियो भने नेपाल नेत्र ज्योति संघ कपिलवस्तु शाखा आँखा अस्पतालले प्राविधिक जनशक्तिसहित आवश्यक सहयोग उपलब्ध गराएको आयोजकले जनाएको छ।
भवानी भिक्षु युवा क्लबका कोषाध्यक्ष विप्लव घिमिरेले क्लबले विगत देखि नै सामाजिक सेवाका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताए। स्थानीय समुदायको आवश्यकता र समस्यालाई ध्यानमा राखेर स्वास्थ्य, शिक्षा तथा सामाजिक क्षेत्रमा क्लबले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने उनको भनाइ रहेकाे छ ।
















































