नवलपरासी, कात्तिक १३ गते । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–२ स्थित सेतो पुलमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
बुधबार दिउँसो करिब १२ः१० बजे हुलाकी सडकखण्डमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३४९७ नम्बरको ट्रकले सोही दिशातर्फ गइरहेको लुम्बिनी प्रदेश ०१–००९ प ९६१९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
दुर्घटनामा मोटरसाइकल चालक रुपन्देहीको तिलोत्तमा नगरपालिका–१३, भलवारी निवासी अन्दाजी ४० देखि ५० वर्षीय पोषकान्त पोखरेल घाइते हुनुभएको थियो। उहाँलाई उपचारका लागि जिल्ला अस्पताल परासी पुर्याइए पनि दिउँसो १२ः२० बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
दुर्घटनापछि प्रहरीले ट्रक, चालक कञ्चनपुरको लालझाडी गाउँपालिका–६ निवासी २६ वर्षीय बन्धु राना र मोटरसाइकललाई नियन्त्रणमा लिएको छ।
मृतकका आफन्तसँग सम्पर्क गर्ने तथा घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।
















































