प्रजातन्त्र पुनःस्थापनाका लागि विसं २०४६ मा भएको ऐतिहासिक जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको ११२ औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ।
नेपाली राजनीतिमा त्याग, साहस र निष्ठाको उच्च उदाहरणका रूपमा रहेका सिंह सर्वमान्य नेताका रूपमा स्थापित छन्। विसं २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गरेको आग्रहलाई अस्वीकार गर्दै उनले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सारेर नेपाली राजनीतिमा त्यागको अनुपम उदाहरण प्रस्तुत गरेका थिए।
विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीमा जन्मिएका नेता सिंहको विसं २०५४ असोज २ गते निधन भएको हो। काठमाडौँको धनी परिवारमा जन्मिएका सिंहले विसं १९९७ मा स्थापित नेपालको पहिलो राजनीतिक दल प्रजा परिषद्को सदस्य भई राणा शासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाएका थिए। सोही क्रममा तत्कालीन राणा सरकारले उनलाई जेल हाल्यो। विसं २००७ अघि नै भद्रगोल जेल फोरेर भाग्न सफल भएका उनले भारत पुगेर बिपी कोइरालासँग राजनीतिक सम्बन्ध गाँसेका थिए। २००३ सालमा स्थापित नेपाली राष्ट्रिय कांग्रेसलाई नेतृत्व दिन र २००७ सालको क्रान्तिमा वीरगञ्ज मोर्चाको सशस्त्र सङ्घर्षको नेतृत्व गर्न उनको अग्रणी भूमिका थियो।
विसं २०१५ को पहिलो निर्वाचित सरकारमा वरिष्ठ मन्त्री बनेका गणेशमानले २०१७ सालको कदमपछि आठ वर्ष सुन्दरीजल बन्दी गृहमा कारावास जीवन बिताए। विसं २०२५ मा रिहा भएपछि प्रवासमा राजनीतिक सङ्गठन विस्तार गरेका उनी २०३३ सालमा बिपीसँगै राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किएका थिए।
तत्कालीन पञ्चायती सरकारले बिपीसँगै उनलाई पनि मृत्युदण्डको माग गरिएका मुद्दा चलाए पनि विशेष अदालतबाट उनले सफाइ पाए। बिपीको निधनपछि नेपाली कांग्रेसका सर्वोच्च नेताका रूपमा गणेशमानले २०४२ सालको सत्याग्रह र २०४६ सालको जनआन्दोलनको सर्वोच्च कमाण्डर भई वाममोर्चासँग मिलेर संयुक्त आन्दोलनको सफल नेतृत्व गरेका थिए।
नेपाली कांग्रेस, यसका भ्रातृ तथा शुभेच्छुक सङ्घसंस्था र गणेशमान सिंह अध्ययन प्रतिष्ठानलगायतका संस्थाले आज उनको स्मृतिमा देशभर विभिन्न श्रद्धाञ्जली तथा विचार गोष्ठीका कार्यक्रम आयोजना गर्दै छन्।
















































