काठमाडौँ । अहिलेको समयका चर्चित हास्यव्यंग्यकार मनोज गजुरेल पुनः वैवाहिक जीवनमा प्रवेश गरेका छन् । यसवर्षको वडादशैंको मौका पारेर गजुरेलले विवाह गरेका हुन् । सोमबार सामाजिक संजालमा आफ्ना शुभचिन्तकहरुलाई आफू दोस्रो पटक वैवाहिक जीवनमा प्रवेश गरेको जानकारी दिंदै सोमाबार नै आफूले विवाह गरेको उनले बताएका हुन् ।
सोमबार विहान भक्तपुरको डोलेश्वर मन्दिरमा गएर परिवारको उपस्थितिमा सोही मन्दिरमा गजुरेलले मञ्जु पोखरेलसँग लगनगाँठो कसेका हुन् । विहाह सकेर सपरिवार मानवसेवा आश्रम, कौशलटारमा रहेका बृद्धबृद्धालाई खाना खुवाएर साथै त्यहाँ रहेका बृद्ध बृद्धाहरुसँग आफूहरुले समेत खाना खाएर फर्किएको उनले बताए ।
‘साथी तथा शुभचिन्तकहरुमा सुखद जानकारी’ शिर्षक दिएर सामाजिक संजालमा विवाहको तस्विर सार्वजनिक गरेका उनले ‘जीवन सधैं सरलरेखा नहिंड्ने रहेछ’ समेत भनेका छन् । ४ वर्ष पहिले कलाकार गजुरेलको पहिलो वैवाहिक जीवन सम्बन्ध बिच्छेद भएर कानुनी रुपमा टुंगिएको थियो ।
त्यस यता एक्लै जीवन विताईरहेका गजुरेलले ‘जीवन यात्राको दौरानमा आत्मीय साथको आवश्यकता महशुस हुनु स्वाभाविकै हो’ भन्दै नेपाल सरकारकी न्याय सेवाकी अधिकृत मञ्जु पोखरेलसँग सोमबार एक मन्दिरमा गएर विवाह गरेका हुन् । ‘जीवनमा आफ्ना छोरा छोरीहरुको शिक्षा, स्वास्थ्य र भविष्यको बारेमा संवेदनशील हुनुपनि जरुरी थियो’ भन्दै यस्तो अवस्थामा साथ दिने सहयात्रीको अभाव समय क्रममा खटकिदै गएको मात्रै होइन छोराछोरी समेत विवाह गर्नुपर्ने आग्रह भएको समयमा पोखरेलसँग चिनजान हुँदै सो चिनजान घनिष्टतामा बढ्दै जाँदा एकैखालको परिवेश र उस्तै खालको भोगाईबाट गुज्रिएका आफूहरु अन्ततः सहयात्रा गर्ने निर्णयमा पुगेको उनले बताएका छन् ।
चिनजान र घनिष्टतामा ‘आफूहरुले एकअर्काका जिम्मेवारीलाई साझा जिम्मेवारी मानेर पूरा गर्ने बाचा गर्दै, अगाडि आईपर्ने सुख र दुःखलाई मिलेर स्वीकार र प्रतिकार गर्ने संकल्प लिएका छौं ।’ उनले संजालमा पोष्ट गरेको आफ्नो पोष्टमा भनेका छन् । आफूहरुलाई यो निर्णयमा पुग्न आफ्ना बाबुनानीहरुको सुझाव र सहमतीले पनि ठूलो मद्धत गरेको गजुरेलले बताएका छन् ।
सम्पूर्ण मिडियाकर्मीहरुलाई सम्बोधन गर्दै आफ्नो व्यक्तिगत जीवनका बारेमा काल्पनिक समाचार नलेखिदिन गजुरेलले अनुरोध गरेका छ । आफ्नी नयाँ जीवन साथीको इज्जत र प्रतिष्ठामा आँच आउने अमर्यादित कथा नकथिदिन पनि उनले सञ्चारकर्मीलाई अनुरोध गरेका छन् । आफ्ना सन्तानको सुख र शान्तिका लागि परपीडक ट्रोल र भिडियो नबनाइदिन उनले अनुरोध गरेका छन् । उनले भनेका छन, ‘कसैको निजी जीवनका बारेमा कपोकल्पित समाचार बनाउने, असम्बन्धित मान्छेसँग नाम जोड्ने, हाम्रो विगतको जीवन, वर्तमानको विवाह तथा भविष्यको योजनाका बारेमा अनुमानकारिता नगर्नु हुन पनि अनुरोध गर्दछु । त्यसैगरी हाम्रो नितान्त व्यक्तिगत मामिलाका बारेमा अनावश्यक सामग्री बनाउने कानुनी, व्यवहारिक र सामाजिक अनुमति कसैलाई नभएको कुरापनि जोडदार रुपमा जाहेर गर्दछु ।’
बिगतका अराजक अन्तवारर्ता, असामाजिक क्रियाकलाप तथा अभद्र व्यवहारका कारण आफू र आफ्ना छोराछोरीले ठूलो आघातबाट गुज्रनु परेको उल्लेख गर्दै । त्यस्ता क्रियाकलापलाई स्थान दिने, उचाल्ने र गिजोल्ने युट्युब, अनलाइन समाचार, टिकटक लगायत संजालका प्रयोगकर्ताहरुलाई पनि भद्र सुझाव छ भन्दै उनले लेखेका छन्,‘कृपया एउटा जिम्मेवार अभिभावक भएर बोल्ने र लेख्ने गर्नुहोला । सामाजिक सञ्जालको चरम दुरुपयोगले आफू र आफ्ना सन्तानलाई पार्न सक्ने गम्भिर असरलाई पनि महशुस गर्नुहोला ।’

















































