काठमाडौं। नेपाल प्रहरीको प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा पूजा सिंहको बढुवा गरेकामा गृहमन्त्री बालकृष्ण खाँणलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश यादव नेतृत्वमा सप्तरीबाट आएको प्रतिनिधिमण्डलले धन्यवाद ज्ञापन गरेको छ। नेपाल प्रहरीको इतिहासमा डीआईजी बन्ने सिंह पहिलो मधेसी महिला हुन्।
“मधेसी महिला सिंहलाई नायब महानिरीक्षकमा बढुवा गर्नुभएकोमा गृहमन्त्री र सरकारलाई धन्यवाद दिन हामी आएका हौँ”, कांग्रेस केन्द्रीय सदस्य यादवले भने, “अब हामीले प्रधानमन्त्रीलाई पनि भेटेर धन्यवाद ज्ञापन गर्छौं। सरकारले उदाहरणीय काम गरेको छ।” प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेकी सिंह प्रहरी सङ्गठनमा अब्बल कार्यसम्पादन गर्ने अधिकृतका रुपमा परिचित छिन्।
















































