सिके राउत समर्थित जनमत पार्टीले सरकारलाई सशक्त आन्दोलनको चेतावनी दिएको छ । पार्टीको किसान महार्यालीलाई सम्बोधन गर्दै केन्द्रीय सचिव भोपेन्द्र यादवले किसानका समस्यालाई तत्काल सम्बोधन नगरे अर्को चरणको थप सशक्त आन्दोलनको घोषणा गर्ने चेतावनी दिएका हुन् ।
जनमत पार्टी रुपन्देहीले किसानका समस्या समाधान गर्न माग गर्दै शुक्रबार रुपन्देहीको भैरहवामा विशाल र्याली निकालेको थियो । भैरहवाको लुम्बिनी गेटबाट सुरु भएको र्यालीले नगरको बुद्धचोक, नयाँ सडक, देवकोटा चोक, बैङ्करोड, नारायणस्थान हुँदै बुद्धचोकमा पुगेर कोणसभा गरेको थियो।
सयौँको सङख्यामा किसानहरू सहभागी भएको सो र्यालीमा ‘पैसे ले मल दे’, ‘कृषि मन्त्री मूर्दावाद’, ‘झुठा मुद्दा फिर्ता गर’, ‘गिरफ्तार आन्दोलनकारी रिहा गर’लगायतका नारा लगाइएको थियो ।

जनमत पार्टीले जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख मनोज केसीलाई ज्ञापनपत्रसमेत बुझाएको थियो । आन्दोलनकारीहरू हातमा कुटो, कोदालो, हलो, बालीनाली हातमा लिएर र्यालीमा सहभागी भएका थिए ।
कोणसभालाई सम्बोधन गर्दै केन्द्रीय सचिव भोपेन्द्र यादव, जनमत शिक्षक सङ्घका केन्द्रीय सदस्य रामदेव यादवलगायतका नेताले राज्यले किसानका समस्यालाई तत्काल सम्बोधन गर्न माग गरेका थिए ।
सिके राउतसमर्थित जनमत किसान सङ्घले विभिन्न ११ सूत्रीय माग राख्दै पुस १५ देखि आन्दोलन थालेको छ । मलखाद, बिउ र सिँचाइको व्यवस्था, किसान कार्डको प्रबन्ध, हावाहुरी र बाढी–पानीले बालीनालीमा पुगेको क्षतिबापतको राहत, फसल बिमा र समर्थन मूल्य निर्धारण गर्नुपर्नेलगायत उनीहरूको माग छ ।
















































