काठमाडौँ । पछिल्लो समय अभिनेता पल शाह र गायिका समीक्षा अधिकारीको सम्बन्धलाई लिएर चर्को विवाद देखिएको छ । गायिका अधिकारीले पलविरुद्ध सम्पूर्ण प्रमाण आफूसँग रहेको उल्लेख गरिरहेकै बेला पलले उनलाई कसैले उक्साएको बताएका छन् ।
मंगलबार सामाजिक सञ्जालमार्फत् लामो स्टाटस लेख्दै पलले स्पष्टीकरण दिएका हुन् । उनले फेसबुकमा आफ्नो संघर्षपूर्ण जीवनको सम्झना पनि गरेका छन् । उनले संघर्षका क्रममा आएका बाधा र अड्चनले कृत्रिम समस्या खडा गरिदिएको समेत उल्लेख गरेका छन् । उनी भन्छन्,“नेपाली समाजभित्र संघर्ष गर्न अनेकन बाधा र अडचनहरु आउने रहेछ । त्यस मध्येमा कतिपय कृत्रिम समस्या खडा गरी एउटा संघर्षको चरणमा रहेको कलाकारलाई बारम्बार प्रहार हुँदा नमिठो अनुभुति भने पक्कै हुँदो रहेछ ।”
उनले समीक्षासँगको विवादलाई जोड्दै भनेका छन्,“विगत केही समययता मसँग एक जना गायिकाको नाम जोडेर केही अनलाइन सञ्चार माध्यममा ‘रियल हिरो कि प्ले ˗ब्वाइ’ भन्ने जस्ता शीर्षक, मेरो अन्य महिला साथीहरुको मञ्जुरी र अनुमति वेगर निजहरुको समेत तस्विर राखी बनाईएको रिर्पोट र अन्य विभिन्न भ्रामक शिर्षक राखी आपत्तिजनक शब्दहरु प्रयोग गरी तथ्यविहीन लाल्छना लगाइ मेरो तथा नीज गायिकाको समेत व्यवसायिक एवम् व्यक्तिगत जीवनमा धक्का पुग्ने गरी प्रकाशित र प्रसारित भएको रिपोर्ट, अडियो तथा समाचारहरुप्रति मेरो गम्भीर ध्यानाकर्षण भइ सो बारेमा मेरा दर्शक, शुभचिन्तकहरुलाई सत्य तथ्य उजागरण गर्ने मनसायसाथ यो अपिल जारी गरेको छु ।”
“नेपालको संविधानले पूर्ण प्रेस स्वतन्त्रताको प्रत्यभुति गरेको हुँदा सत्यतथ्य समाचार प्रकाशन र प्रसारण गर्न नेपाली सञ्चार जगत स्वतन्त्र रहेकोमा विवाद छैन । विगतमा पनि नेपाली प्रेसले विधिको शासन र नागरिक स्वतन्त्रताको पक्षमा अनुकरणी भूमिका खेलेको गौरवमय इतिहास छ । तर, यस्तो इतिहास बोकेको प्रेस जगतका केही सञ्चार माध्यम एकांकी र गैरजिम्मेवार भएको पाउँदा मलाई दुःखि तुल्याएको छ,” उनले भने,“म र मसँग नाम जोडेर समाचार प्रकाशित गर्दा, मेरो स्वतन्त्र प्रेसले मलाई एक वचन सोध्ने वा मेरो भनाइ राख्न दिने अवसर पनि नदिएको हुँदा आम जन मानसमा सत्य उजागर गर्न यो अपिल प्रकाशित गर्न बाध्य भएको छु । एक अविवाहित गायिका, नायिका र उच्च शिक्षा पढ्दै गरेकी कसैको छोरी चेलिवेटीको नाम र तस्बिर समेत सार्वजनिक गर्दै मसँग हुँदै नभएको प्रेम र विवाहका समाचार बनाएर हाम्रो चरित्र हत्या गर्न कुनै पनि मिडियालाई छुट हुँदैन, हुनु हुँदैन । आम सञ्चार माध्यममा प्रकाशित यस किसिमका भ्रामक समाचारले म तथा अन्य नारी कलाकारहरुको व्यक्तिगत जीवनमा कस्तो नकारात्मक असर पर्छ त्यसको अनुमानसमेत गर्न सकिँदैन । उनीहरुको वर्तमान र भविष्यलाई नै अन्धकार बनाउने किसिमका उल्लेखित समाचारहरुले नेपाली प्रेस जगतको श्रीवृद्धिमा पक्कै पनि सहयोग गर्दैन ।”
आफ्नो आवाजमा सार्वजनिक भएको अडियोलाई लिएर पल भन्छन्,“अनलाइन माध्यमहरुमा प्रकाशित समाचार र अडियो रेकर्डहरु हेर्दा र सुन्दा म स्वयं आश्चर्यचकित भएको छु । प्रसारित अडियो रेकर्डमा बज्ने आवाज मेरो आवाजसँग मिलेको जस्तो भएतापनि उक्त आवज मेरो हो भन्नेमा पूर्ण शंका रहेको, प्रविधिको कुटिल प्रयोगमार्फत् जस्तोसुकै र जोसुकैको आवाजलाई भिन्न भिन्न ढंगबाट प्रयोग गर्न सकिने कुरा सामान्य भइसकेको छ । यहाँ पनि फरक प्रसँग तथा चलचित्रमा अभिनय गर्ने भन्ने क्रममा रेकर्ड गरिएका सम्वादहरुलाई हाम्रो वास्तविक जीवनसँग जोड्ने प्रयासमा रहनुभएका मेरा केही पुरुष सहकर्मी (व्यवसायिक प्रतिस्पर्धी)ले नीज गायिकालाई मेराविरुद्ध बोल्न, प्रमाण सिर्जना गर्न लगातार उकास्ने गरेको जानकारी मलाई थियो, नीज निर्दोष गायिकाले मेरा पुरुष सहकर्मीहरुले उकासे बमोजिम नै गर्दै गएको भन्ने कुरा पछिल्लो मिडिया रिर्पोटले थप पुष्टि गरेको छ । मेरा सम्पूर्ण दर्शक महानुभावहरुको मप्रतिको भरोसालाई अक्षुण राख्न, नीज गायिकालाई मेरा प्रतिस्पर्धी साथीहरुले उकासेको अडियो लगायत अन्य प्रमाणहरु मसँग सुरक्षित रहेको र ति सबुत प्रमाणहरु आधिकारिक निकायले माग गरेको खण्डमा पेस गर्नेछु भन्ने प्रतिवद्धता व्यक्त गर्दै म र मसँग नाम जोडेर प्रकाशित उल्लेखि समाचारहरु वास्तविकताभन्दा धेरै टाढा रहेको हुँदा सोबाट भ्रमित नहुन हार्दिक अपिल गर्दछु । अन्तमाः तपाईंहरुको अगाध माया र प्ररेणाले मलाई सत्य र निष्ठाको मार्गबाट कहिले पनि विचलित हुन दिने छैन र विचलितसमेत हुने छैन भन्ने विश्वास दिलाउन चाहन्छु ।”

















































