दिनेश रायमाझी
आगामी मंसिरमा हुने निर्वाचनामा एक्लै जाने हिम्मत नेकप(एमाले)मा बाहेक अरु दलहरुमा देखिन्न । यसरी चुनाव भयो भने ठुलो दलको रुपमा एमाले नै अगाडि आउनेछ । तर अर्को यथार्थ के हो भने चुनावमा गठबन्धन वा तालमेल गर्नै पर्ने बाध्यता सबैभन्दा धेरै एमाले र कांग्रेसलाई नै छ । किनभने संसदमा ठुलो दल बन्दैमा सरकार बनाउन सकिन्न । सरकार बनाउन अरु दलहरुको सहयोगमा बहुमत पुग्नु जरुरी हुन्छ ।
गठबन्धन गरेर चुनाव लड्दा बहुमत आउने र गठबन्धन भित्रको ठुलो दलको हैसियतले प्रधानमन्त्री बन्न पाइन्छ । यो लोभ एमाले अध्यक्ष तथा कांग्रेस सभापति दुबैमा देखिन्छ । तर अर्को कुरा पनि छ , यदि गठबन्धनमा राम्रो नतिजा आयो भने प्रधानमन्त्रीको निम्ति आधा सयमको लागि बार्गेनिङ गर्न सकिन्छ र आधा समयको लागि प्रधानमन्त्री बन्न सकिन्छ भन्ने लोभ प्रचण्डमा पनि छ।यसकारण प्रचण्ड पनि आफुलाई फाइदा पुग्ने गतिलो गठबन्धनकै पक्षमा छन् । अर्थात अब हुने चुनाव गठबन्धन गरेरनै हुनेछ ।
तर गठबन्धन कसकसको बीचमा होला ? यो भने कौतुहलपुर्ण छ ।
परिस्थिति सामान्य रहि रह्यो र सिट संख्यामा कुरामिल्यो भने अहिलेकै सरकारी गठबन्धन एउटा र एमालको नेतृत्वमा अरु बिपक्ष सहितको अर्को गठबन्धन बन्ने हो । यस्तो भयो भने सत्ताधारी गठबन्धनले जित हासिल गर्ने र सरकार बनाउने र एमाले तथा अन्य दलहरु प्रतिपक्षमा रहने कुरा हुनेछ । तर बिषय कस्तो छ भने काङ्ग्रेसले गठबन्धन भित्रै सरकार निर्माणगर्न पुग्ने बहुमत सिट चाहिरहेको छ । अन्य दलहरु यस्तो हुनदिने पक्षमा छैनन् । अहिलेको अवस्थामा त काङ्ग्रेसले पेलिरहेको छ अन्य सहयात्री घटकहरुलाई भनेपछि एक्लै बहुमत पाए केसम्म नगर्ला भन्ने डर अरुलाई छ । यो गठबन्धन कायम रहने वा नरहे कुरा काङ्ग्रेसको लचकतामा एउटा र उता प्रचण्डले पनि आधा कार्यकाल प्रधानमन्त्री बन्ने चाहाना राखेकाले प्रचण्डको मुभ अर्को, गरि दुई कुरामा निर्भर रहन्छ ।
एमाले पनि कुनै पनि हालतमा सत्तामा जान लालायित भएको देखिन्छ । अध्यक्ष ओलीले प्रचण्डको मनोभाव नबुझी बसेका छन् भनेर मान्न सकिन्न । अर्कोतिर जनता र कार्यकर्ताको चाहाना पनि गठबन्धन सकेसम्म बामपंथीहरुकै बीचमा हुनुपर्छ भन्ने नै देखिन्छ । यो एक प्रकारको दवाव हो भन्दा पनि हुन्छ । ओलीले प्रचण्डको भावनालाई पनि र जनताको चाहानालाई पनि संबोधन गर्दै प्रचण्डलाई केही अबधिको निम्ति प्रधानमन्त्री पदको सुनिश्चितता गरिदिने हो भने प्रचण्ड एमालेसंग गठबन्धन गर्न जाने संभावना पनि उत्तिकै बलियो देखिन्छ । यदि प्रचण्ड एमालेसंगको गठबन्धनमा जाने यकिन भयो भने माधव नेपाल, उपेन्द्र यादव , डाक्टर बाबुराम तथा चित्र बहादुर केसी समेत सबैनै एमालेको नेतृत्वमा बन्ने गठबन्धनमा सामेल हुन बाध्य हुनेछन् । यदि यस्तो हुनगयो भने चुनावमा यहि गठबन्धनको जित हुने छ र कांग्रेस प्रतिपक्षमा पुग्ने छ ।
अर्को एउटा झिनो संभावना पनि छ र त्यो भनेको समाजवादी केन्द्र बनाएर माके, एस र जसपाको एउटा फ्रण्ट र अर्को नेपाली कांग्रेस र एमालेको नेतृत्वमा एकएकवटा फ्रण्ट । तर यो झिनो संभावना भएको अपशन हो ।
गत स्थानीय चुनावमा केही रोचक परिणामहरु पनि आएका थिए । अब आउने चुनावमा त्यसखालको रोचक परिणामहरु आउनेछन् भनेर भन्न पनि सकिन्न र आउनेछैन भनेर पनि भन्न सकिन्न ।बरु अर्को के कुराको शंकागर्न सकिन्छ भने यसपटक तार्गेटेड उम्मेदवारी हुन सक्छ केही नेताहरुको बिरुद्धमा । र जनताले त्यसमा समर्थन जनाउन सक्ने संभावना धेरै छ । यदि यस्तो हुनगयो भने यसबाट सबैभन्दा धेरै खतरा ओली, देउवा र प्रचण्डलाई हुनेछ । भ्रष्टाचार , कुशासन तथा महङ्गीको कारणले सबै दलहरु प्रति जनता रुष्ट भएको अवस्था छ ।त्यसमा एमसिसि, एसपिपी तथा हालैको नागरिकता बिधेयकले रुष्ट जनतामा थप रिस थपिदिएको छ अर्थात आगोमा घ्यु थप्ने काम गरेको छ । अर्को तरिकाले भन्दा अहिले देशमा राष्ट्रवाद उम्लिरहेको अवस्था छ । यो परिस्थितिमा जनताले रिसको भोट अन्यत्र हालेर मुल नेतृत्वलाई हराइदिने संभावना उत्तिकै प्रवल पनि छ ।
जेजस्तो सुकै गरि चुनाव भए पनि वा चुनावमा गएपनि संसदको बनावट त हल्लिने संसदनै हो । भारतमा सत्ताधारी दलले प्रदेशका सांसदहरुको खरिद गरेर प्रदेश सरकारहरु ढालेर आफ्नो सरकार बनाउने काम गरिरहेको देखिन्छ । बीस प्रतिशत संख्या भएमा दल फुटाउन सकिने व्यवस्था हामी कहाँ पनि भएकोले दल फुटाउन धन खर्च गर्ने र तिनीहरुको सहयोगमा आफ्नो सरकार बनाउने कसरत पनि नहोला भन्न सकिन्न । खैर, हामीले चाहेको स्थीर सरकार हो, सुशासन दिने, पारदर्शी तरिकाले कामगर्ने र कामको जिम्मेवारी लिने सरकार हो । तर हाम्रो संवैधानिक व्यवस्थालेनै बहुमतको सरकार बन्नसक्ने गरि चुनाव जित्न सकिने अवस्था दिएको छैन।यस्तो भएपछि सत्तामा पुग्न, सत्तामा पुगेर अडिन जस्तोसुकै अलोकतान्त्रिक, अवाञ्छित र अपारदर्शी कामहरु गरिने संभावना धेरै रहनेछ र त्यसले हाम्रो बिकास र निर्माणको गतिलाई पनि अवरुद्घ भने पारिनै रहनेछ ।