विराटनगर । विभागीय टोली त्रिभुवन आर्मी क्लबले गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको उपाधि जितेको छ ।
सोमबार राति विराटनगरमा भएको खेलमा विभागीय टोली आर्मीले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई १–० गोल फरकमा पराजित गर्दै उपाधि जितेको हो । आर्मीले प्रतियोगिताको उद्घाटन खेलमासमेत पुलिसलाई पराजित गरेको थियो । आर्मी साबिकको विजेता हो । पहिलो गण्डकी र दोस्रो लुम्बिनीले उपाधि जितेको थियो ।
लिग चरणमा सहजै जित निकालेको आर्मीलाई फाइनलमा जित निकाल्न निकै सङ्घर्ष गर्नु परेको थियो । खेलको ४१ औँ मिनेटमा आर्मीका काशीराज राईले गरेको गोल नै निर्णायक बन्यो । म्यान अफ द म्याच आर्मीका नितिज न्यौपाने भए ।
कार्यक्रमका प्रमुख अतिथि कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विराटनगरमा दक्षिण एशियाली महिला हक्की प्रतियोगिता आयोजना गर्न आवश्यक सहयोग गर्ने बताए ।