दिनेश रायमाझी
हामी कहाँ समस्या कस्तो छ भने एकैचोटि राष्ट्रिय तहको समस्या अथवा बिषयमा मात्रै रुचि राख्ने र त्यसको वरिपरि रहेर कुराकानी गर्ने । अझ कतिपय सन्दर्भमा त बेलायत र जापानका दृष्टान्तहरु अघि सारेर कुराकानी गर्ने । तर स्थानीय तहका बिषयहरुमा रुचिनै नराख्ने । गाली गरे पनि केन्द्र तिरकै मान्छेहरुलाई गर्ने र प्रशंसा गरे पनि उनीहरु कै गर्ने ।
हाम्रो यस्तो प्रबृत्तिले स्थानीय तहका जनप्रतिनिधिहरुलाई हाइसञ्चो जस्तो भइरहेको देखिन्छ । यिनीहरूले पनि माथि तिरै देखाउँछन् र उनीहरुको आलोचना गर्दा, उनीहरूलाई गाली गर्दा हो मा हो मिलाउँछन् । केन्द्र तिरकालाई गाली गर्न गराउन यिनीहरु लागि रहन्छन् । किन भने यस्तो गराउन सक्दा आफू अबगालबाट , आलोचनाबाट वचन सकिन्छ । अब हामीले यो केन्द्रलाई गाली गरेर दिन बिताउने होइन । हामीले हाम्रै वरिपरि के भइरहेको छ ? हाम्रा जनप्रतिनिधिहरुले गर्नै पर्ने के के कामहरु गरिरहेका छैनन् ? सजिलो सँग गर्न सकिने कामहरु किन भइरहेका छैनन् भनेर स्थानीय तहमै कुरा गर्नुपर्छ । हामीले नै हो जनप्रतिनिधिहरुलाई काम गर्न बाध्य पार्ने । जनता प्रति उत्तरदायी बनाउने ।
हामीले हामी बसेको टोललाई कस्तो कनाउने ? आफू बसेको नगर कस्तो छ र कस्तो बनाउने भनेर हामीहरु संगै बसेर छलफल गर्नुपर्छ । जनप्रतिनिधिहरु कार्यान्वयन गर्ने स्थानमा छन् । तर यसको अर्थ तिनीहरु सर्ब ज्ञानी हुन्छन् र तिनीहरुनै सबै कामहरु गर्न सक्छन् भन्ने होइन । राजनीतिमा लागेको हुनाले उनीहरु त्यो स्थानमा पुगेका हुन् । उनीहरुमा ज्ञानको कमि हुनु, आइडियाको कमि हुनु बिल्कुल स्वाभाविक छ । तर उनीहरुसंग आफुले चाहेको बिषयमा ज्ञान लिनसक्ने दायरा भने धेरै फराकिलो हुन्छ ।
उनीहरुलाई बिषय विज्ञहरुको सल्लाह लिएर काम गर्न सजिलो पनि छ र सक्ने अवस्था पनि छ । किनभने चाहिएको बिषयमा सल्लाह लिन उनीहरुलाई धेरै सुबिधा पनि प्राप्त छ, स्रोतको पनि अभाव रहँदैन । हामी नागरिकहरु मिलेर बहस छलफल गर्दा धेरै किसिमका आइडियाहरु निस्किन सक्छन् । धेरै प्रकारका उपायहरु पत्ता लाग्न सक्छन् । किनभने धेरै बुद्धि भएको एउटा मान्छेले सोच्ने भन्दा कति हो कति राम्रो तरिका, बिचार त्योभन्दा थोरै बुद्धि भएका मान्छेहरु मिलेर सोँच्दा निस्किन्छ भन्ने त भनाइ नै छ । हामी नागरिकहरु भनेको जनप्रतिनिधिहरुको अवैतनिक सल्लाहकारहरु पनि हौं ।
हामी नागरिकले उठाउने मुद्दा र त्यसलाई संबोधन गर्ने हाम्रो सामुहिक विधि जहिले पनि सहि, बिवाद रहित र अव्वलनै हुने गर्छ । त्यस कारण हामीले विभिन्न बिषयहरु जस्तो व्यापार ब्यवसायको बारेमा, महङ्गाईको बारेमा, नगरको सुन्दरीकरणको बारेमा, बिकासका तौर तरिकाहरुको बारेमा, शान्ति सुरक्षाको बारेमा, सुशासनका बारेमा छलफल गरेर जनप्रतिनिधिहरुलाई केवल सुझाव मात्रै दिने होइन कि उनीहरुलाई काम गरेर देखाउन समेत बाध्य पार्न सक्छौं ।
हामीले आजै देखि नै हामीलाई चाहिने कुराहरु पहिल्याउनु पर्छ । के के बिषयहरुमा छलफल गर्ने हो ती बिषयहरु तय गरेर अघि बढ्नुपर्छ । हामीले एक बर्षमा के के, दुई बर्षमा के के र एक कार्यकाल भित्र के के काम गर्ने र कसरी कसरी गर्ने भन्ने बिषयमा एउटा रोड म्याप नै बनाउनुपर्छ । हाम्रो टोलको, हाम्रो वडाको र हाम्रो नगरकै स्कुल कलेजहरु कस्ता छन् ? हामीले अब कस्तो बनाउने हो ? त्यो कसरी बन्छ भन्ने कुराको मार्ग चित्र बनाउनुपर्छ ।
यसैगरी स्वास्थ्यको कुरा आउँछ । रोजगारी , व्यबसाय, पर्यटन र यातायात लगायतको बारेमा के कस्तो गर्ने हो अहिले नै कार्यक्रम बनाउनु पर्छ । शुद्ध पिउने पानी उपलब्ध कसरी गराउने भनेर अहिले नै सोच्नु पर्छ । जनतालाई हामीले लिखित रुपमा दिन सक्ने हुनुपर्छ अबको पाँच बर्ष भित्रमा हामीले नगरमा यो यो काम गरेर देखाउने छौं भनेर ।
हामी बसेको यो क्षेत्र हरेक हिसाबले अत्यन्त धेरै संभावना बोकेको क्षेत्र हो । यो क्षेत्रलाई हामीले आफ्नै श्रोत र साधनको प्रयोग गरेर एसियाली देशहरुको बिकसित सहरहरुको मापदण्डमा पु¥याउन सक्छौं । हामीसंग जनशक्ति प्रयाप्त छ । राम्रोसँग काम गरेमा साधन र श्रोत पनि प्रशस्तै छन् यहाँ । हामीसंग सामुहिक भिजन पनि छ र हामीसंग राजनीतिक एजेन्डा पनि छ जो अरुसंग हुने छैन । समथर भुभाग छ, नदिनालाहरु छन्, तिलौराकोट, निग्लिहवा, गोटिहवा र कुदान जस्ता ऐतिहासिक तथा पुरातात्त्विक महत्त्वका सम्पदाहरु छन् । संसारबाट चराहरु बच्चा जन्माउन आउने जगदिशपुर ताल छ । यातायात, संचार, बिजुली, पानीको राम्रो सुविधा छ यहाँ ।
यस क्षेत्रलाई हामीले चाहे जस्तै बनाउन सकिने अवस्था हामीसंग छ । यसकारण मुख्य कुरा के हो भने यो सबै काम गर्न बिकासको अर्थ बुझेका, आधुनिक बिकासको मोडल कस्तो हुन्छ भनेर जानेका, दृढ इच्छा शक्ति भएका र जनता प्रति पुर्ण रुपले उत्तरदायी भएका जनप्रतिनिधिहरु हुनुपर्छ । एउटा भनाइ नै छ ,जस्तो जनप्रतिनिधि चुनेर पठाइन्छ ठिक त्यस्तै किसिमको नतिजा आउँछ । त्यसकारण आफुभन्दा बढी जाने बुझेको मान्छेलाई आफ्नो प्रतिनिधि चुन्नु पर्छ । र जनप्रतिनिधि चुन्ने काम भनेको आम जनताको हो । हामीले कराएर वा टाउको ठटाएर केही हुँदैन ।
हामीले देखि रहेका छौं । कैयौं समय भयो बाटो भत्काएको तर बनेको छैन । छाडा बस्तुहरु जताततै छन् । स्कुल कलेजका पढाइ पनि न त रोजगारी दिने खालका छन् न त सेवा दिने खालका नै छन् । हामीले हाम्रा नानीबाबुहरुलाई बेरोजगार बनिने शिक्षा प्रदान गरिरहेका छौं । अब यस्तो अवस्थाबाट यो ठाउँलाई निकाल्नु पर्छ । यहाँको शिक्षा ए क्लासको बनाउने, स्वास्थ्य सेवा तेस्तै बनाउने, रोजगारी यहीँ पाइने बनाउने, यो ठाउँलाई पर्यटनको हब बनाउने किसिमले अब हामीले काम गर्नु पर्छ । यसको लागि सहि मान्छे सहि स्थानमा पुग्नु पर्छ । यस कारण हामीले बसोबास गरिरहेको यो नगरलाई कस्तो बनाउने भनेर आजैबाट बहसमा जुटौं, छलफल गरौं । सुशासन, बिकास र समृद्धि हाम्रो अधिकार हो । यो विचार आजको साझा न्यूज पत्रिकामा प्रकाशित छ ।