साझा न्यूज । कपिलवस्तु
घरायसी उपभोगका लागि ताजा र विषादी रहित तरकारी उत्पादन तर्फ विजय नगर गाउंपालिकाका महिला कृषकहरु सक्रिय हुन थालेका छन् । अंधेरी हिल्फेको सहयोगमा कालिका स्वावलम्वन सामाजिक केन्द्रले संचालन गरेको खाद्य सुरक्षामा सामुदायिक रुपान्तरणको लागि पैरवी कार्यक्रम अन्र्तगत समुहका सदस्य कृषकहरुले आफ्ना घर नजिकैको करेसाबारीमा ताजा तरकारी उत्पादन शुरु गरेका छन् ।
परियोजना अन्र्तगत कृषकहरुलाई करेला, लौका, बोडी, भिन्डी, फर्सीका विउ विजन वितरण गरिएको थियो । यसरी पाएको विउ विजनबाट कृषकहरुले आफ्नो घर वरपर करेसावासी निर्माण गरी तरकारीको उत्पादन गरेका छन् ।
उनीहरु तरकारीमा विषादी प्रयोग गर्दैनन् । विषादी पनि नभएको र बारीबाट ताजा टिपेर खान पाईने भएका कारण आफुहरुलाई करेसा तरबारीबारी निकै फाईदाजन भएको विजयनगर गाउंपालिका वडा नं. ७ गेडुवाजोतकी सुनिता चौधरीले बताईन् ।
कृषकहरुले यसरी उत्पादन गर्ने तरकारी विषादी रहित छन् । तरकारी उत्पादनमा कृषकहरुले रसायनिक मलको सट्टामा प्रांगारिक मल प्रयोग गरिरहेका छन् । उनीहरुले घरेलु ढंगबाट तयारी गरिएको झोलमोल बनाएर प्रांगारिक मल बनाउने गरेको कार्यक्रमका सहजकर्ता दीपक भण्डारीले बताए ।
कृषि उत्पादनलाई सुधार गर्न कार्यक्रम अन्र्तगत असल कृषि अभ्यासका कक्षाहरु संचालन गरिएको छ । उनीहरुलाई थप प्रोत्साहित गर्न सिंचाई व्यवस्थाका लागि समूहगत रुपमा पानी तान्ने मोटर समेत उपलब्ध गराईएको कार्यक्रम संयोजक सृजना पौडेलले बताईन् ।
पानी तान्ने मोटरको सहयोगबाट तरकारी बारीमा कृषकहरु सहज रुपमा सिचाई गर्न पाउंदा खुशी भएका छन् । विजय नगर गाउंपालिकाका ७ वडाका ३५ वटा कृषक समूहका सदस्यहरुलाई कार्यक्रम अन्र्तगत किसानहरुको जिविकोपार्जन सुधारका लागि विउविजन वितरण, सिचाईका लागि मोटर पम्प वितरण, कुपोषण विरुद्ध पोषिलो खानेकुराहरु वितरण तथा प्रदर्शनी र आर्गेनिक खेती लगायतमा जोड दिईएको छ ।
विजयनगर गाउंपालिकाका ७ वटै वडामा संचालनमा रहेको यस कार्यक्रमलाई विजयनगर गाउंपालिका र सवै वडाहरुले अफनत्व ग्रहण गरेको विजयनगर गाउंपालिकाका अध्यक्ष गोपाल थापाले बताए ।
















































