पर्सा, मङ्सिर ३ गते । कात्तिक २५ गतेको गोरखापत्रमा कर्मचारी र लेखनदास नै बिचौलिया शिर्षकमा प्रकाशित समाचारको प्रभाव नापी कार्यालय पर्सामा देखिएको छ। समाचार प्रकाशित भएको एक साता नबित्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले मंगलबार नापी कार्यालय पर्साका र सर्वेक्षक रामराम प्रमोद राउत र कार्यालय सहयोगी अरुण प्रसाद उपाध्यायलाई नगद एक लाखसहित नियन्त्रणमा लिएको हाे ।
आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले सेवाग्राहीबाट छुट्टै जग्गा दर्ता गरिदिने भनेर विभिन्न बहानामा सर्वेक्षक राउत र कार्यालय सहयोगी उपाध्यायले आर्दश नगरस्थित पानी ट्याङ्किस्थित कार्यालयबाट सेवाग्राहीबाट नगद एक लाख लिँदै गर्दा नियन्त्रणमा लिएको जानकारी दिनुभयो।
मुलुकमा व्यापक भ्रष्टाचार अनियमितता बेथिति र सुशासनको विरोधमा जेन जी युवा पुस्ताका युवाहरुले गरेको आन्दोलनको प्रभाव नापी कार्यालय पर्सामा देखिएको छैन। आजका दिनसम्म आइपुग्दा पनि सेवाग्राहीहरु बिचौलियाको रुपमा काम गर्दै आएका लेखनदास र सानो तहका कर्मचारीहरुको सहयोगमा काम गराउन बाध्य छन्। सोझै काम गराउन वातावरण नभएकोले बिचौलियाको सहयोग लिनुपरेको गुनासो सेवाग्राहीले गर्ने गरेको गुनासोलाई सम्बोधन गरी प्रकाशित समाचारको प्रभावको रूपमा आयोगको कारवाही लाई सेवा ग्राहीहरूले लिने गरेका छन्।
नापी कार्यालय पर्साका लेखनदासहरूअनुसार दिनहुँ हुने यस्ता र्काय सानो तहका कर्मचारी र लेखनदासबाट मात्र सम्भव नभएकोले र्कायालयका सानादेखि ठुला कर्मचारीहरुको भागबन्डा र संलग्नतामा हुने गरेको बताउँदै आएका छन् ।
















































