साझा न्यूज । कपिलवस्तु
विजयनगर गाउंपालिकाका गाउंवस्तीहरुमा महिलाहरुले असल कृषि अभ्यास कक्षा मार्फत सुधारिएको कृषि प्रणालीको थालनी गरेका छन् । विजयनगर गाउंपालिकाका असल कृषि अभ्यास कक्षामा सिकाईएका कृषि विधी तथा प्रणालीबाट महिला कृषकहरुलाई आर्गेनिक तरकारी उत्पादन शुरु गर्न सहज भएको छ ।
असल कृषि अभ्यासबाट सिकेर उनीहरुले तरकारी बालीमा रसायनिक मलखादको साटो प्रांगारिक मलको प्रयोग गरेका छन् । आफुहरुले किटनाशक औषधी प्रयोग नगरी गाउं घरमै बनाईएको झोलमोलबाट किटनाशक औषधी र मलखादको प्रयोग गरिरहेको विजयनगर वडा नं. २ जर्लैया की शकुन्तला पुरीले बताईन् ।
यो सवै ज्ञान सीप हामीले असल कृषि अभ्यासबाट सिक्न पायौैं, उनले भनिन्, “यो कक्षाबाट हामीले अहिले घर नजिकै करेसाबारी शुरुवात गर्यौं ।” आफुलाई खाना आवश्यक पर्ने ताजा तरकारी अब हाम्रै करेसा बारीमा तयार हुन थालेको छ, उनले भनिन् ।
अंधेरी हिल्फेको सहयोगमा कालिका स्वावलम्वन सामाजिक केन्द्रले संचालन गरेको खाद्य सुरक्षामा सामुदायिक रुपान्तरणको लागि पैरवी कार्यक्रम अन्र्तगत समुहका सदस्यहरुलाई समूहगत रुपमा असल कृषि अभ्यास कक्षा संचालन गरिएको कार्यक्रमका फोकल पर्सन अजय चौधरीले बताए ।
विजयनगर गाउंपालिकाका मधुनगर, मानपुर, दत्तपुर, कडियार, महादैया, जर्लैया, छुटपाटी लगायतका गाउंका समुहका महिलाहरुलाई १० वटा सेसनमा असल कृषि अभ्यास कक्षा संचालन गरिएको थियो ।
कक्षामा तरकारी नर्सरी व्यवस्थापन, झोलमोल निर्माण र प्रयोगको तरिका, लैंगिक समानता, मित्र किरा र शत्रु किराको पहिचान एवं व्यवस्थापन, प्रांगारिक मल, बजारीकरण लगायतका विषयहरुमा समुह सदस्यहरुलाई शिक्षा प्रदान गरिएको छ ।
असल कृषि अभ्यास निकै नै व्यवहारिक र प्रभावकारी भएको कार्यक्रम संयोजक सृजना पौडेलले बताईन् । गाउं घरमै हुने विभिन्न प्रकारका फालिएका सड्ने गल्ने बस्तुहरुबाट प्रांगारिक मल बनाउंदा कृषि उत्पादन बढ्ने र रसायनिक मलखादलाई प्रतिस्थापन गरी स्वस्थ आहार विहारमा पनि सहयोग पुग्ने हुंदा आफुहरुले पनि यो प्रविधिलाई प्रर्वधन गर्न वडा तथा पालिकाबाट सहयोग गरेको वडा अध्यक्ष दिनेश चौधरीले बताए ।
















































