रमेश मिश्रा । साझा न्यूज
नेपाल भारत सीमा अन्र्तगत कपिलवस्तु जिल्लाको सीमावर्ती भारतीय नाकाहरुमा विशेष कडाई गरिएको छ । नेपालबाट भारत तर्फ जान विशेष कडाई गरिएको हो । कपिलवस्तु कारागारबाट ४ सय ३१ जना कैदी वन्दीहरु आज विहानै कारागार तोडेर भागे पछि उनीहरुलाई भारतीय सीमा नाका पार गर्न नदिन कडाई गरिएको स्थानीय प्रशासनले जनाएको छ ।
भारतीय सीमा सुरक्षा अधिकारीहरुले सीमा क्षेत्रका स्थानीयलाई नागरिकता देखाएर विशेष काम बाहेक अन्य व्यक्तिलाई सीमा नाकाबाट आवत जावत गर्नमा रोक लगाएका छन् । भारतीय नागरिकहरुलाई भने आधार कार्डका आधारमा सीमा नाकामा प्रवेश दिएको छ ।
कारागारबाट भागेका कैदी वन्दीलाई नियन्त्रण तथा पक्राउ गर्न भारतीय समकक्षीहरुसंगको संवाद पछि केही समयका लागि सीमा नाका बन्द गरिएको स्थानीय प्रशासनले जनाएको छ ।
सीमा नाका पार गरी भारत तर्फ जांदै गरेका ८ जना कैदी वन्दीलाई भारतीय सीमा सुरक्षा अधिकारीहरुले पक्राउ गरेका छन् । यसै गरी ६९ जना कैदी वन्दीलाई सदरमुकाम तौलिहवा र आसपासका क्षेत्रबाट पक्राउ गरी कारागार प्रशासनमा बुझाईएको प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङ्गले बताए ।
भागेका कैदी वन्दी नियन्त्रणका लागि एक राउण्ड गोली हवाई फायर समेत गनु परेको प्रजिअ तामाङ्गले बताए ।
















































