कपिलबस्तु, कात्तिक २७ गते । जिल्लामा प्रशासन र पत्रकार महासंघबीच पारदर्शिता, जवाफदेहिता र सुशासन प्रवद्र्धनका लागि सहकार्य सुदृढ गर्ने प्रतिबद्धता जनाइएको छ ।
जिल्ला प्रशासन कार्यालय कपिलबस्तुले आयोजना गरेको समन्वय बैठकमा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले सत्य र निष्पक्ष पत्रकारिता लोकतन्त्रको मेरुदण्ड भएको बताउँदै पत्रकारहरूको सुरक्षाप्रति प्रशासन सदैव संवेदनशील रहने उल्लेख गर्नुभयो ।
बैठकले जिल्लाको विकास योजनाको कार्यान्वयन, सूचना पहुँच, र सञ्चार माध्यमको भूमिकाबारे विस्तृत छलफल गर्दै प्रत्येक तीन महिनामा संयुक्त समीक्षा बैठक बस्ने निर्णय पनि गरिएको सहायक प्रमुख जिल्ला अधिकारी पदमलाल लामिछानेले बताउनुभयो ।
पत्रकार महासंघ कपिलबस्तु शाखाका अध्यक्ष डिलाराम भुसालले प्रशासन–प्रेस सहकार्यले सुशासन र अभिव्यक्ति स्वतन्त्रता सुदृढ हुने विश्वास व्यक्त गर्दै जनहितका विषयमा तथ्यपरक पत्रकारिता निरन्तर अघि बढाइने बताउनुभयो ।
बैठकमा सशस्त्र प्रहरी उपरीक्षक नेत्र केसी, प्रहरी नायब उपरीक्षक सन्तोष आचार्य, पत्रकार महासंघ कपिलबस्तुका उपाध्यक्ष खग प्रसाद चापागाई, पत्रकार महासंघ लुम्बिनी प्रदेशका निवर्तमान अध्यक्ष बसन्त गिरी लगायत जिल्लाका सक्रिय पत्रकारहरूको सहभागिता रहेको थियो ।
















































