काठमाडौँ । राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालले भर्ना नलिँदा एक महिलाले अस्पताल परिसरनजिकै सडकमा बच्चा जन्माउनुपरेको घटना प्रतिनिधि सभामा उठेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र कर्णले घटनाबारे सदनको ध्यानाकर्षण गराउँदै आर्थिक अभावका कारण स्वास्थ्य संस्थाबाटै आधारभूत उपचार तथा प्रसूति सेवा पाउन नसक्ने अवस्था गम्भीर र संवेदनशील विषय भएको बताउनुभएको छ।
सांसद कर्णका अनुसार राजविराज नगरपालिका–१४ पर्साही निवासी हरेराम पासवानकी श्रीमती बबिता पासवानलाई सुत्केरी व्यथा लागेपछि उपचारका लागि गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल लगिएको थियो। तर उपचारका लागि आवश्यक रकम नभएको भन्दै अस्पतालमा भर्ना हुन नपाएको उहाँले सदनमा जानकारी गराउनुभयो।
कर्णका अनुसार बबिता पासवानसँग तत्काल दुई हजार पाँच सय रुपैयाँ मात्र रहेको थियो। सो रकम पर्याप्त नभएको भन्दै अस्पतालले भर्ना लिन अस्वीकार गरेपछि उनले अस्पतालबाहिर फुटपाथमै बच्चा जन्माउनुपरेको सांसद कर्णले बताउनुभयो।
सांसद कर्णले आर्थिक अभावकै कारण गर्भवती महिलाले स्वास्थ्य संस्थाबाट प्रसूति सेवा पाउन नसक्ने अवस्था कसरी सिर्जना भयो भन्नेबारे सरकारसँग जवाफ माग्नुभएको छ।
उहाँले घटनाका सम्बन्धमा सम्बन्धित निकायबाट आवश्यक जानकारी लिएर अस्पतालमा सेवा प्रवाहको वास्तविक अवस्था स्पष्ट पार्न तथा यस्ता घटना दोहोरिन नदिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ।
















































